माघ ९ गते मंगलबारबाट पोखरामा १६ औ संस्करणको आहा ! रारा गोल्ड कप


राजाराम पौडेल,पोखरा – सहारा क्लबको आयोजनामा माघ ९ गते मंगलबारबाट पोखरामा १६  औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । माघ २० गतेसम्म पोखरा रंगशालामा हुने मोफसलको प्रतिष्ठित प्रतियोगितामा तीन विभागिय सहित १२ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।


जस अनुसार यसपाली ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र थ्रीस्टार क्लब प्रतियोगीतामा सहभागी हुनेछ्न् ।
आयोजक सहारा क्लव सँगै झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी उच्च मनोबलका साथ पोखरा रंगशालामा देखिनेछन् । यसका अलावा विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश र युनाइटेड सिक्किम भारत रहने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जनाए । यसमध्ये उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब भएको र विदेशीका साथै राष्ट्रिय टिमका खेलाडीसमेत भएकाले बंगलादेशी टोली बलियो रहने थापाले बताए ।

यसपाली प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशीमा समेत बृद्धि गरिएको छ । प्रथम पुरस्कारमा २ लाख बृद्धि गरेर ७ लाख १ हजार रुपैयाँ र द्वितीय पुरस्कारमा १ लाख बृद्धि गरेर ३ लाख ५१ हजार पु¥याइएको छ । गतवर्ष प्रथम पुरस्कारको राशी ५ लाख १ हजार र द्वितीय पुरस्कारको राशी २ लाख ५१ हजार थियो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, फेयर प्ले लगायतका पुरस्कार वितरण हुनेछ ।
टिकट काटेर फुटवल हेर्न गएका दर्शक मध्ये लक्की ड्रबाट बिजेता बनेका एक जनालाई एउटा स्कुटर र अर्का एक जनालाई एलजी टिभी प्रदान गरिने आयोजक जनाए ।

प्रतियोगिताका लागि रंगशालामा अस्थायी प्याराफिट बनाइने छ । अत्याधुनिक रंगशाला बनाउनका लागि फुटवल स्टेडियमका पुराना संरचना भत्काउने क्रममा दर्शक प्याराफिट भत्काइरहेकाले अस्थायी प्याराफिट निर्माण गरेर दर्शक बस्ने ठाउँ बनाइने क्लबका अध्यक्ष थापाले बताए । एक हजार जना बस्ने क्षमताको स्काइ फोल्डिङ प्याराफिट बनाइनेछ ।

प्रतियोगीताले खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग गरी पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापीत गर्ने सहारा क्लवले विश्वास लिएको थापाले बताए । ‘प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउने हो’ थापाले भने ।

वि.स.२०५८ मा क्याराभान गोल्डकपको रुपमा खेलाईएको यस प्रतियोगीता त्यस पछाडी लगातार १० वर्ष सम्म आहा गोल्ड कपका नाममा खेलाईएको थियो । विगत पाँच वर्ष देखी आहा–रारा गोल्डकपका नाममा खेलाइन थालिएको हो ।

वि.स.२०५८ सालमा क्याराभान गोल्ड कपको नाममा पहिलोपटक खेलाईएको प्रतियोगीताको उपाधि नेपाल पुलिस क्लवले जितेको थियो । नेपाल पुलिस क्लवले वि.स. २०५९, २०६४, २०६५ र २०६६ को उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो । थिस्टार क्लवले वि.स. २०६३, २०६७, २०६९ र २०७१ को उपाधी जितेको थियो । मनाङले वि.स.२०६०, २०६१, २०६८, २०७२ र २०७३ को आहा गोल्डकपको उपाधी चुमेको थियो । त्यस्तै वि.स.२०६२ को विजेता टिम अफ्रिकन युनाइटेड क्लव हो । वि.स.२०७० को उपाधी आयोजक सहारा क्लवलेनै जितेको थियो ।

१६ औं संस्करणको प्रतियोगीताबाट आयोजक सहारा क्लबले १ करोड २१ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने सहारा क्लबले जनाएको छ । बचत हुने ३१ लाख रूपैयाँ सहारा एकेडेमीको दैनिक कार्य सञ्चालनमा खर्चिने योजना क्लबको छ । सहारा क्लवले विगत १६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको हो । प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको छ । हाल एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रति रहेको क्लबका अध्यक्ष थापाले जानकारी दिए । सहारा क्लवले वर्षेनी आयोजना गर्ने यो फुटबल प्रतियोगीता पुग्ने दर्शकको भिँडलाइ व्यवस्थापन गर्न आयोजकलाइ हम्मेहम्मे पर्ने गर्दछ ।