क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाइने


काठमाण्डौ- सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।।

केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ ।

हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रुपमा कार्यरत छन् ।

उनीहरु नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने बरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरुको पदलाई प्रदेश सचिव भनिनेछ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यालयका सचिव खगराज बरालले भने ।