पोखरामा प्रदेश प्रमुखको निवास र कार्यालयसँगसँगै रहने


पोखरा- सरकारले प्रदेशको अस्थायी मुकाम तोक्दै प्रदेश प्रमुख समेत नियुक्त गरेसँगै प्रदेश प्रमुखको कार्यालय तथा निवास र मख्यमन्त्री, मन्त्रीको कार्यालय सहित अन्य कार्यालय एबं निवास रहने स्थानसमेत निश्चित गरेको छ ।

प्रदेश नम्बर ४ को सदरमुकाम पोखरामा प्रदेश प्रमुखको निवास र कार्यालयसँगसँगै रहने भएको छ ।  सरकारले ४ नं प्रदेश अन्तरगत अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश प्रमुखको कार्यालय र निवास बनाउने तयारी गरेको हो ।

दुवै भवन एकै ठाउँमा रहेकाले प्रदेश प्रमुखका लागि आवास र कार्यालयसँगै व्यवस्थापन गर्न लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लागि सीप विकास कार्यालय पोखराको भवन प्रयोग गर्ने तयारी छ । तर मुख्यमन्त्रीको निवासका लागि हिमागृह सिफारिस गरिएको भएपनि यसवारे बिरोध भएपछि अन्तिम निर्णय भने आएको छैन ।

सीप विकास कार्यालयको निर्माणाधिन उक्त भवन १५ देखि २० दिनसम्म निर्माण सम्पन्न भइसक्ने जिल्ला प्रशासन कार्यालय कास्कीको अनुमान छ ।

यस्तै, नगरविकास प्रशिक्षण केन्द्रको भवनलाई प्रदेश सभाहल बनाउने तयारी भएको छ । उक्त भवनमा संसद भवनसँगै प्रदेशसभाका सचिवालय र सभामुख/उपसभामुखको कार्यकक्ष रहनेछ ।

मुख्य मन्त्री, मन्त्रीहरु, सभामुख र उपसभामुखको आवास व्यवस्थापनबारे पनि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनाए ।