पोखरामा पर्यटन व्यवसायी महिला संघ गठन


पोखरा – पयर्टकिय शहर पोखरामा रहेर पर्यटन व्यवसायका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुको संस्था पर्यटन व्यवसायी महिला संघ ( टेवान ) स्थापना भएको छ ।

पर्यटन क्षेत्रमा संलग्न महिलाहरुको हक हितमा केन्द्रित रहने संस्थाको अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी लक्की कार्की रहेकी छिन ।
संघले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका उप प्रध्यापक तथा संघका सल्लाहकार श्रीकान्त खतिवडाले पर्यटन क्षेत्रमा महिला सवैभन्दा महत्वपूर्ण खम्बा भएको बताए । आतिथ्यता, आत्मियता र विनम्रताको पर्यवाचीको रुपमा चिनिने पर्यटन व्यवसायमा महिलाको प्रमुख भुमिका रहने तर्क गर्दै खतिवडाले महिला व्यवसायी एकतावद्ध हुनुपर्ने जनाए ।

संस्थाका सल्लाहकार तथा वरिष्ठ पर्यटन व्यवसायी मन्धरा ढकालले इमान्दारिता, सक्रियता र अग्रताले नै व्यवसायमा सफलता प्राप्त हुने धारणा व्यक्त गरिन । ढकालले भनिन “ पर्यटन व्यवसाय भनेको नै हार्दिकता र सौहार्दतासंग जोडिने भएकोले सौखिन प्रकृतिका व्यक्तिहरुको पर्यटन व्यवसायमा स्थान देखिदैन” ।
संघकी अध्यक्ष लक्की कार्कीले महिलाहरु घरको चार पर्खालमा सिमित नभै हरेक कुरामा चाँसो र सक्रियता देखाएमा व्यवसायमा सजिलै सफलता प्राप्त गर्न सक्ने बताईन । जन्मजात कसैले पनि केही नजान्ने भन्दै कार्कीले भनिन “ ज्ञान र क्षमताले भन्दापनि अवसरले महिला पछि परेका हुन जसको लागि स्वयं महिलाको सक्रियता आवश्यक भएको छ ” ।

संस्थाको उपाध्यक्षमा रेणु थापा, महासचिवमा कमला गिरी, सचिव सोभा न्यौपाने, कोषाध्यक्ष प्रभा सुवेदी र सदस्यमा पार्वती पौडेल, शोभा पौडेल, इश्वरी पौडेल, हरीकला पहारी, कमला गुरुङ, स्मिता श्रेष्ठ रहेको महासचिव कमला गिरीले जानकारी गराईन । संस्थाले श्रीकान्त खतिवडा, मन्धरा ढकाल, इन्दिरा बराल, टिका सापकोटाको सल्लाहकारमा चयन गरेको गिरीले बताईन ।