“समग्र कास्कीको पर्यटन विकासमा प्रतिबद्ध भएर लाग्छौ”


पोखरा – कास्कीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुले समग्र कास्कीको पर्यटन विकासमा प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले  कास्की जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित सदस्यहरुलाई आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पर्यटन विकास गर्ने बताउनु भएको हो ।

प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा तथा प्रदेश सभा सदस्यहरु मनवहादुर गुरुङ, राजीव पहारी, रामजी बराल र विन्दुकुमार थापालाई बधाई तथा सम्मान प्रकट गरिएको थियो । सो अवसरमा बोल्दै सभासदहरुले वृहत पोखरा र समग्र जिल्लाको पर्यटन विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश सभा मार्फत् आफूले पर्यटनमैत्री नीति निर्माणमा सघाउले बचनबद्धता प्रकट गर्नुभयो ।मागृहलाई सरकारी आवासको रुपमा प्रयोग हुनबाट रोक्ने बताउँदै उहाँले भन्नुभयोे– राजा बसेको ठाउँमा जनताको प्रतिनिधि बस्नुपर्छ भन्ने शोच हो भने त्यो गलत हो ।

पोखरालाई औपचारिक रुपमै पर्यटनको राजधानी घोषणा गर्न, यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन र गैरआवासीय नेपाली समुदायसँग मिलेर सार्वजनिक निजी साझेदारी अवधारणामा फेवातालको संरक्षण गरी यसको क्षेत्रफल विस्तारमा आफू लाग्ने उहाँले बताउनुभयो । राजनीतिक अस्थीरता अव अन्त्य हुने बाटोमा गएको भन्दै उहाँले अस्थिरताबाट अव पर्यटन क्षेत्र प्रभावित हुने अवस्था नआउने बताउनुभयो ।यसैगरी कास्कीका अर्का प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पर्यटन व्यवसायीसँग पर्यटन क्षेत्रलाई कस्तो बनाउन चाहेको हो लिखित जानकारी दिन आग्रह गर्नुभयो । पर्यटन व्यवसायीको अनुभव र विज्ञतालाई नीति निर्माण तहमा लैजान आफूले भूमिका खेल्ने भनाई उहाँको थियो । उहाँले अगाडी थप्नुभयो– म विज्ञ पनि होइन, मैले जानेको पनि छैन, तपाईहरु पर्यटन क्षेत्रलाइ कसरी अगाडि बढाउन चाहनुहुन्छ, मलाई जानकारी गराउनुस् ।

अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पर्यटन लगायत अन्य क्षेत्रको विकासका लागि पूर्वाधारको विकास गर्नुपर्ने बेला आएको भनाई राख्नुभयो । अवको यात्रा विकास र समृद्धिको हो भन्दै उहाँले भ्रष्टाचाररहित अवस्था र सुशासनका लागि आफूले सधैं पहल गर्ने बताउनुभयो । दलगत स्वार्थ भन्दा माथी उठी सत्ता पक्ष र प्रतिपक्ष विकासका काममा लाग्नुपर्ने भन्दै उहाँले पोखराको सडक स्तरोन्नती, ट्राफिक व्यवस्थापन, यो शहरलाई पर्यटकीय फिल्म सिटी बनाउने र खेलकूदको विकास गर्ने तर्फ आफ्नो ध्यान हुने भनाई राख्नुभयो । अर्का प्रदेश सभा सदस्य जगत विकले पर्यटन व्यवसायीको साथ र समर्थन लिएर नै आफूले विकासका काम अगाडि बढाउने भनाई राख्नुभयो । पोखरा र वरपरको क्षेत्रको समग्र विकासका लागि व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्ने पक्षमा आफू रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा आयोजक संघका अध्यक्ष विकल तुलाचनले पोखरा र वरपरको पर्यटन क्षेत्रमा एक सय अर्व रुपैयाँ भन्दा बढीको लगानी रहेको जानकारी गराउँदै २५ हजार भन्दा बढी रोजगारी उक्त लगानीले सिर्जना गरेको जानकारी दिनुभयो । राजनीतिक अस्थीरता, आर्थिक मन्दी, भूकम्प जस्ता कारणले पर्यटन क्षेत्र मारमा परेको बताउँदै अध्यक्ष तुलाचनले पूर्वाधारहरुको विकासमा अव आउने सरकारले ध्यान दिनुपर्ने आबश्यकता औंल्याउनुभयो । सम्पदाको संरक्षण तथा पर्यटनको प्रवद्र्धन जस्ता विषयलाई समेत सँगै लिएर अगाडि बढ्नुपर्ने सुझाव तुलाचनको थियो । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा डिलको हिमागृहलाई कुनै सरकारी आवासको रुपमा प्रयोग गरिए पर्यटन क्षेत्रले आफ्नो प्रतिष्ठानको तालाचावी लएर प्रशाशनमा बुझाउने चेतावनी दिनुभयो । उहाँले हिमागृह जस्ता क्षेत्रको सही सदुपयोग गरी वृहत्तर हितका लागि प्रयोग गर्नुपर्ने सुुझाव राख्नुभयो ।