पार्टी सभापती देउवा ज्यु – अब राजनीतिबाट बिश्राम लिनुहोस् ।


प्रकाश ढकाल

२०३६ सालको जनमतसंग्रह लगत्तै वि.पी.ले त्यतीबेला भन्नु भएको थियो रे- ”हामी जनताले दिएको मतको मनभित्रै देखि सम्मान गर्छौं तर मत बहुदलपक्षलाई पनि त आएको छ, त्यसको पनि सम्मान राजाले गर्नुपर्छ र हामीले पाएको मतलाई बचाई राख्नको लागि आवश्यक परेको खण्डमा पार्टी पुनर्गठन गर्नु पर्ने पनि हुन सक्छ भने बरु म पछाडी हट्न पनि तयार रहनु पर्छ ।”

पार्टी सभापती ज्यु, समयको गती संगै आज इतिहाँसको कठिन घडीमा नेपाली कांग्रेस उभिएको छ । वि.पी.ले जस्तो त्याग देखाउने अवस्थामा अब कांग्रेसका तपाईं लगायतका पहिलो पुस्ताका नेता पुगिसक्नु भएको छ । तपाईं वा पहिलो पुस्ताका अरु नेताहरुको इच्छा जे होला, त्याग गर्नुहोला या नगर्नुहोला तर अब तपाईं तथा पहिलो पुस्ताका अरु नेताहरुको व्यक्तीगत इच्छा र स्वेक्षाले नेपाली कांग्रेस अगाडी बढ्न सक्दैन भन्ने कुरा आजको कांग्रेसको अवस्थाले पुस्टी गर्छ । कांग्रेस नेता विश्वप्रकाश शर्माले भने जस्तै आज कांग्रेस ठुलो प्रतियोगीताको फ़ाइनलमा पुगेर पनि हारेको फुटबल टिम जस्तो भएको छ । किन यस्तो भयो यसको निर्मम आत्मसमीक्षा हुनु जरुरी देखिएको छ ।

पहिलो संविधानसभामा लज्जास्पद हार व्यहोरे पनि दोस्रो संविधानसभामा जनताले विश्वास गरेका थिए । किनकी जनतालाई थाह थियो कांग्रेसको नेतृत्वमा मात्र संविधान लेख्न सम्भव छ । पार्टी सभापती ज्यु, आज देशमा कांग्रेसको नेतृत्वमा जारी भएको संबिधानले संक्रमणकालको अन्त्य मात्र गरेन देशलाई अब स्थायीत्व जरुरी छ भनेर सबै तहको निर्वाचन सम्पन्न भैसकेको परिप्रेक्षमा तपाईंले ठुलो जिम्मेवारी निर्वाह गरेको जगजाहेर छ । यो निर्वाचन कांग्रेसको लागि कठीन थियो, तपाईं देशको प्रधानमन्त्री पनि हुनुहुन्छ, कांग्रेस हार्दै छ भन्ने रिपोर्टहरु तपाइँलाइ आएकै थिए होला । यहि थाह पाएर नै विपक्षी नेता खडग प्रसाद ओली निर्वाचनको अघिल्लो दिन सम्म कांग्रेस निर्वाचन सार्न खोज्दै छ भन्दै हुनुहुन्थ्यो । तर तपाईं कत्ती पनि विचलित नभई निर्वाचन सम्पन्न गराउनु भयो । कांग्रेस हारेर केहि हुदैन तर देशले जित्नु पर्छ भन्नेमा तपाईं अडीग रहनु भयो यहि नै कांग्रेसको नेता हुनुको विशेषता हो भन्ने सबैलाई देखाईदिनु भयो ।

हिजोका दिनमा विपीको विचार, गणेशमानको साहस अनि कृष्ण प्रसाद भट्टराई जस्ता उदाहरणीय अनि गिरिजाप्रसाद प्रसाद कोइराला जस्तो नेतृत्व क्षमता हुँदै सुशील कोइरालाले दिएको संविधानलाई अब कार्यन्वयन गर्ने बाटोमा स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन गराउदै देश जिताउने बहादुर नेताको रुपमा तपाईंलाइ पाउँदा हामी आम कांग्रेसीहरु गर्व गर्छौं । पार्टी हारे पनि देश हार्ने काम काङ्ग्रेसले आजसम्म गरेको छैन सायद यहि भएर होला आज आफना नेताहरुले हार्दै गर्दा सबै आम कांग्रेसका कार्यकर्ता कांग्रेसको नेतृत्वमा देशले जितेको छ संक्रमणकालको अन्त्य भएको छ भनेर थप उर्जा प्राप्त गरेका छौं । विपक्षी दलका नेताले मधेशका हाम्रा आफनै दाजुभाइहरुलाई बिहारी भन्दै गर्दा भड्कीइरहेका मधेश केन्द्रीत दलहरुलाई मनाएर उनीहरुलाई पनि शान्त तरिकाले स्थानीय, प्रादेशीक र केन्द्रिय निर्वाचनमा भाग लिने वाताबरण मिलाउने पार्टीको सभापती हो तपाईं, यसमा पनि हामी कांग्रेसी गर्व गर्छौं । मधेशमा रहेका हाम्रा दाजुभाइ नै असली सिमा पहरेदार हुन् भन्ने सुझबुझ तपाइँसंग रहनु नै आम काङ्ग्रेसजनले गर्व गर्ने कुरा हो ।

पार्टी सभापती ज्यु, समय, काल र परिस्थितीले दिएको एतिहासीक जिम्मेवारी पुरा गर्नु भएको छ । अब यहि जिम्मेवारी पुरा गरे लगत्तै विश्राम लिंदा उपयुक्त हुन्छ भन्ने ठान्नु हुनेछ भन्ने आम कांग्रेस कार्यकर्ताको विश्वास हो । उपयुक्त समयमा लिइने सहि निर्णयले एउटा नेतालाइ देशले सदियौं सम्म सम्झिरहने छ । यो अवसरबाट तपाईं नचुक्नुहोस। तपाईंले राजनीतिबाट विश्राम लिनुभयो भने पहिलो पुस्ताका सबै नेतालाइ पनि नैतिकबोध हुनेछ । कांग्रेसको रुपान्तरण र पुनर्गगठन गर्ने उपयुक्त समय यहि हो ।

पार्टी सभापती ज्यु, कांग्रेसको पराजय हुनुमा धेरै कारण छन् जसको मुख्य दोष पार्टीको नेता भएको कारण तपाईले लिनु पर्छ भन्ने पनि होइन । जिम्मेवारी सबैको हो तर तपाईं पार्टी सभापती बने लगत्तै बिहानदेखि बेलुका सम्म तपाइको वरिपरी रहिरहने नेता तथा तपाईं प्रधानमन्त्री बने लगत्तै बालुवाटारको किचन क्याबिनेटले तपाईंलाइ कस्तो ‘ब्रिफिङ्ग’ गर्थ्यो ? त्यो पनि महत्वपूर्ण हो । प्रतिकुल अवस्थामा पनि तपाईंलाइ जनभावना विपरीत कार्य गर्न उक्साउनेहरुलाई चिन्नुस । देशको प्रधानमन्त्री वा पार्टी सभापती सबैतीर डुलेर चाहारेर हरेक कुराको जानकारी लिने अवस्थै हुदैन त्यस्तो अवस्थामा तपाईलाइ सबैतीर ठिक भैरहेको छ ,जे छ ठिक हुँदै छ भन्दै गलत सल्लाह दिनेहरु पनि आज कांग्रेसको यो अवस्था ल्याउन दोषी छन् । अहिले संचारको विकास संगै आम जनताको चासोका विषयहरु पनि बढीरहेका छन् । प्रहरीको आइजी फेर्ने सवाल, प्रधानन्यायाधीस, अनि लोकमान प्रकरण यी आम जनचासोका विषय थिए । यी विषय संवेदनशील हुन् भन्ने पनि तपाईका सहयोगीले तपाईंलाई बुझाइएको समेत पाइएन । आम सरोकारको विषयमा ‘न्युट्रल मतदाता’को बढी चासो रहेको हुन्छ । न्युट्रल मतदाता नै प्राय निर्वाचनको परिणाम उथलपुथल ल्याउने हुन्छन । सधैं आम जनताको चासो रहेको विषयलाई हचुवाको भरमा चलाउन खोज्नु भनेको गोमन सर्प चलाउनु बराबर हो भन्ने पनि तपाइँलाई ब्रिफिङ्ग गरेको देखिएन ।

पार्टी सभापती ज्यु, टिकट वितरण गर्दा पनि धेरै अनियमितता गरिएको थियो । निर्वाचन पहिला यो विषयमा कसैले बोल्ने कुरा पनि भएन किनकी बामगठबन्धन एकातीर थियो त्यसैले कांग्रेस एक भएको भान पार्नु आवश्यक थियो । विपक्षी बामगठबन्धनले सबैलाई समयमै टिकट दिएकोले आफना नेताहरु अनि उम्मेदवारहरु गाउँटोल छिरिसकेका थिए तर कांग्रेस मनोनयनको अघिल्लो र अन्तीम दिन सम्म पनि कसलाई टिकट दिने भन्नेमै अल्झिरहेको थियो । टिकट वितरण गर्दा, गुट र उपगुट हेरिएको थियो, यस्तो हर्कत सबै गर्ने पहिलो पुस्ताका नेता थिए त्यसैले कांग्रेसको यो अवस्था हुनुमा तपाईं लगायत पहिलो पुस्ताका नेता सबै जिम्मेवार छन् । टिकट वितरण गर्ने कुरा आममतदाता संग जोडिएको हुन्छ । जनता हेर्न चाहन्छ अनि बुझ्न चाहन्छ की फलानो पार्टीले कस्तो व्यक्तीलाई टिकट दिएको छ भनेर । कतीसम्म भने- खाइरहेका राजदुत, अनि भुकम्प पिडितहरुको घर बनाउने जिम्मा लिएका प्राधिकरणका सीइओ लाई पार्टीले टिकट दियो, यो जस्तो भद्धा मजाक केहि थिएन । प्राधिकरणको सीइओ नियुक्त गर्ने विषयमा अनि एक व्यक्तिका कारण पार्टीले देशभर बदनाम कमाएको हामीले भुलेका छैनौं । बरु काङ्ग्रेसले बनाएको सीइओले भुकम्प पिडितका घर समयमै बनाउन सकेको भए कांग्रेसकै भोट धेरै आउंथ्यो होला । यस्तो संवेदनशील विषयमा पनि तपाईं गम्भीर भएको पाइएन ।

पार्टी सभापती ज्यु, आजको दिनमा देशमा युवाहरु धेरै छन् । आमसंचार तथा इन्टरनेटको पहुँचका कारण यो पुस्ता बढी चेतनशील छ । मुख्य कुरो अहिलेको युवापुस्ता कुनै पार्टी विशेष भन्दा पनि अब देशमा स्थायीत्व चाहन्छ । तपाईंले बनाएको किचन क्याबिनेटले युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ लगायतलाई पार्टीको एजेन्डा बुझाउन देश दौडाहामा पठाउने योजना किन रद्ध गर्यो ? त्यो तपाईं नै बुझ्नुस । कांग्रेसले गरेको काम जनतामा बुझाउन पठाउन खोज्दा कसले रोक्यो ? यो साँचो हो की काम कांग्रेसले धेरै गरेको छ र काम गर्न जानेको पनि छ तर गरेको कामको प्रचार गर्ने सहि तरिका कहिल्यै जान्न सकेन । तपाइंले बनाएको किचेन क्याबिनेटमा रहनेले कस्तो काम गर्दैछन भन्ने समेत तपाइंले हेक्का पाउनु भएन । आम चासो र जनताका सरोकार भन्दा तपाइंको वरीपरी रहनेहरुको कुरा सुन्नु र विश्वाश गर्नु तपाइंको पनि कमजोरी हो । कतीसम्म भने -तपाइंको किचन क्याबिनेटमा रहेका तपाईंकै उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठले स्थानीय निर्वाचनमा आफनै वडामा कांग्रेस उम्मेदवार जिताउन नसक्नु भएको हो तर तपाईं वहाँकै कुरा सुन्दै आउनु भयो । हालै नेपाली सेनाका एक उच्च अधिकृतसंग यस पंक्तिकारको कुरा गर्दा उनले भनेका थिए ”प्रधानमन्त्री देउवा गलत मान्छे हैनन् तर उनी गलत र स्वार्थी मान्छेहरुको घेरामा परेका मात्र हुन् ”।  सायद यहि नै हुँदै आयो र भैरहेको थियो ।

गलत भैरहेको लाई गलत भन्दै आइरहेका युवानेताहरु लाई विश्वास गर्न नसक्नु तपाईंको ठुलो कमजोरी रह्यो । पहिलो पुस्ताका नेताहरुले गल्ती गर्दै जाने अनि त्यहि विषयमा उठेका सवालमा समग्र पार्टीको बचाउ गर्न युवा नेताहरु संचारमाध्यममा जवाफ दिंदै हिड्नुपर्ने अवस्थाको अन्त्य अब नेपाली कांग्रेसमा हुनुपर्छ । यस पंक्तिकारले करीब २ महिना अगाडी तपाईंसंग बालुवाटारमा भेट्दा भनेको थियो ”कांग्रेसलाई जोगाउने हो भने खरेल जस्ता आइजी बनाउन लाग्नु पर्छ, चुडामणि जस्ता भ्रस्टलाई अहिल्यै जेल हाल्नु पर्छ, आयल निगममा भ्रस्टाचार गर्नेलाई पनि जेल हाल्नु पर्छ अनि चुनावमा जनतामा जाँदा भ्रष्ट्रहरुलाई हामी जेल हाल्छौं भन्नु पर्छ ताकी जनतामा कांग्रेसप्रती विश्वास होस यो पंक्तिकारले यसो भनिरहँदा तपाइंले मात्र टाउको हल्लाउनु भयो । सभापती ज्यु, लोकतन्त्रमा एक व्यक्तीको त कुरा त् सुनिनु पर्छ भने कांग्रेस कार्यकर्ताले यसो भनिरहँदा, कतै गलत भैरहेको त छैन भन्ने महसुश समेत तपाइंले गर्न सक्नु भएन । आजको दिनमा जुनसुकै एउटा युवाको आवाज पनि लाखौँ युवाको आवाज हो भन्ने ख्याल राख्न नसक्दा आज काङ्ग्रेसले सजाय पाएको छ ।

पार्टी सभापती ज्यु, हिजो ४८ सालमा गिरिजा प्रसाद कोइरालाले तपाईंलाई युवा अवस्थामै गृहमन्त्री नबनाएको भए आज कांग्रेसमा युवापुस्ता तयार हुन गारो पर्थ्यो । तपाईं गृहमन्त्री बन्नको लागि पार्टीभित्र धेरै लड्नु परेन र संघर्ष पनि गर्नु परेन । तपाइंले त्यतीबेला गृहमन्त्री हुँदा बनाएको निस्कलंक छवी र तपाइंले गरेको कामका कारण तपाइँ छिट्टै प्रधानमन्त्रीको कुर्चीमा विराजमान रहन सक्नु भयो । हो यहि आदर्श अब हामी काङ्ग्रेसमा देख्न चाहन्छौं । त्यहि विगतको अवस्था सम्झिदिनुस र जसरी गिरिजा प्रसादले तपाईंलाई विश्वास गरेर ल्याउनु भयो अब तपाइंले पनि त्यसरीनै पार्टीमा दोश्रो पुस्ता र युवालाई अगाडी बढाउने उपयुक्त मौका यहि हो भन्ने बुझ्नुस । आज देशले सदियौं भर सम्झने काम सम्पन्न गर्नु भएको छ, पार्टी हारे पनि देश जिताउने काम गर्नु भएको छ र मेरो आफनो सान्दर्भिकता यहि कार्यको सम्पन्न गर्नका लागि सम्म मात्रै रहेछ भनेर गर्व गर्नुहोस र दोश्रो पुस्ताको लागि मार्ग प्रशस्त गर्नुहोस् । पहिलो पुस्ताका तपाईं लगायतका नेताहरुको त्याग र अनुभवलाई संगाल्दै दोस्रो तथा युवापुस्ताहरुले कांग्रेसलाई सहि बाटो दिनेछन । जय नेपाल ।