इनरह्वील क्लव अफ पोखरा मिडटाउनद्धारा जेव्रा क्रस मार्किङ


पोखरा –  सामाजिक क्षेत्रमा क्रियाशिल इनरह्वील क्लव अफ पोखरा मिडटाउनले पोखराको लेकसाइड स्थित हल्लनचोकमा चार वटा जेव्रा क्रस मार्किङ गरेको छ ।
पैदलयात्रुलाई बाटो पार गर्न सहज होस् भन्ने उद्धेश्यले जेव्रा क्रस मार्किङ गरिएको क्लवकी अध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । दुर्घटनामा न्यूनिकरण गर्ने र ट्राफिक व्यवस्थापनलाई सघाउने उद्धेश्य पनि यो कार्यक्रमले लिएको उनले बताइन् ।
सो अवसरमा पोखरा लेखानाथ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले ट्राफिक ब्यवस्थापनप्रति इनरब्हिल क्लबले देखाएको चासो र सक्रियता उदाहरणीय रहेको बताए । पहारीले सबै कुरामा राज्यसँग निर्भर हुनु भन्दा कतिपय कुरा नागरिक स्वयमको अग्रसरताले पनि समाजलाई सकारात्मक उन्मुख बनाउने भनाई राखे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले स्पष्ट देखिने जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुले जथाभावि बाटो काट्दा दुर्घटना हुने गरेको बताए । उनले ट्राफिक नियमको उल्लंघन र हतारको यात्रा दुर्घटनाको कारक हुने गरेको बताए । रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष महेन्द्र बहादुर गोदारले दुर्घटना न्यूनिकरणका लागि हरेक पैदल यात्रु र सवारी चालकले ट्राफिक नियमको पालना गर्नु पर्ने बताए ।
इनरब्हिल क्लब अफ पोखरा मिडटाउनले जेब्रा क्रसिंग मार्किङ गरेर सामाजिक जिम्मेवारी पुरा गरेको उनको भनाई थियो । कतिपय मार्किङ गरिएका जेब्रा क्रस पनि मेटिएका कारण पैदल यात्रुलाई बाटो काट्न सास्ती भएको भन्दै रोड मार्किङ मेसिनको सहायताले जेब्रा क्रस मार्किङ गरिएको संयोजक एवं सो  क्लबका एडिटर किशोरी गोदारले जानकारी दिइन् ।
कार्यक्रममा इनरव्हिल क्लव अफ अन्नपूर्णका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक ३५० नेपालका इ एस ओ  शर्शिज पालिख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक भिमराज वली, जनप्रतिनिधिहरु, रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउन, पश्मिाञ्चल होटल संघ पोखरा, टान पश्चिमाञ्चल संघ, नाटा पोखरा, रेवान पोखरा, महिला पर्यटन व्यवसायी मञ्च लगायतका संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो । इनरव्हिल क्लब अफ पोखराका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा स्वागत क्लवका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३५० नेपालका  आइ एस ओ विद्या गुरुङले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव सावित्री थापाले गरेकी थिइन् ।