काँग्रेस उम्मेदवार शुक्रराज शर्माको धार्मिक पर्यटनको विकास गर्ने प्रतिबद्धता


पोखरा – कास्कीकोट, धम्पुस र धितालमा शनिबार चुनावी प्रचारमा पुगेका काँग्रेस उम्मेदवार शुक्रराज शर्माले सो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको भन्दै धार्मिक पर्यटनको विकास गर्ने योजना सुनाए ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगतका प्रदेशसभा सदस्यद्वय शारदा पौडेल र शिकन्दर गुरुङसहित चुनावी प्रचारको क्रममा त्यहाँ पुगेका शर्माले आर्थिक सम्बृद्धि र स्वरोजगारी बढाउन सो क्षेत्रमा धार्मिक पर्यटनले महत्वपूर्ण भुमिका खेल्ने दाबी गरे । ‘यो ठाऊँ कृषि र धार्मिक पर्यटनका लागि स्वर्ग हो । र, यसलाई व्यवस्थित तरिकाले प्रबद्र्धन गर्न जरुरी भने छ ।’ शर्माले भने–‘मसँग त्यो खाले भिजन छ । र, निर्वाचित भएसँगै म यो कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।’

कास्कीकोट, धम्पुस हुँदै धितालमा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै गर्दा प्रतिनीधिसभा उम्मेदवार शर्माले त्यहाँको गुप्तकालिका मन्दिरको स्तरोन्नतीलाई जोड दिए । त्यस्तै उनले आधुनिक कृषि प्रणालीको विकास, कृषि सडकको विस्तार, स्तरोन्नतीसँगै कृषि उत्पादनको बजार विस्तारको लागि पनि आफूले गुरुयोजना तयार पारिसकेको प्रस्ट्याए ।

त्यस्तै प्रदेश क तर्फकी उम्मेदवार शारदा पौडेलले जनताको दुख बुझेको पार्टी काँग्रेस मात्रै भएको उल्लेख गर्दै आसन्न निर्वाचनमा रुखमा भोट हालेर जिताउन जनतासँग आग्रह गरिन् । अर्का प्रदेश ख तर्फका उम्मेदवार शिकन्दर गुरुङले जनतालाई झुक्याउने प्रयास भैरहेको बताउँदै सच्चा र सेवा भाव भएका उम्मेदवारलाई भोट हाल्न मतदाताहरुलाई अपील गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेपाली काँग्रेस कास्कीका सहसचिव भरतबहादुर अधिकारी लगाएतले काँग्रेसको पक्षमा भोट माग्दै जनतालाई झूठा आश्वासन दिएर जानेहरुसँग नझुक्किन आग्रह गरेका थिए ।