पोखराका होटलहरुमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको स्वागतको तयारी सुरु


पोखरा – पर्यटकीय नगरी पोखराका होटलहरुले क्रिसमस र अंग्रेजी नयाँ वर्षको स्वागतको तयारी सुरु गरेका छन् । क्रिसमस इभ र नयाँ वर्ष आउन करिब १ महिना बाँकी रहँदा नै पोखराको होटल वाराहीले पर्यटकलाई स्वागतको तयारी सुरु गरेको हो । क्रिसमस र अँग्रेजी नयाँ वर्षमा आउने पर्यटकलाई स्वागत गर्ने उद्देश्यले होटलले ‘क्रिसमस केक’ र ‘न्यु इयर केक’ तयार पार्दैछ ।

बुधबार एक कार्यक्रमका बीच केकको मिक्सिङ गरिएको महाप्रवन्धक राजकुमार केसीले जानकारी दिए । केकका लागि आवश्यक पर्ने विभिन्न परिकार र अल्कोहललाई घोलेर विशेष प्रकारको केक तयार पारिएको केसीले बताए । ‘केकलाई १ महिनासम्म फ्रिजमा राखेर खानका लागि उत्कृष्ट बनाउँछौं,’ केसीले भने, ‘क्रिसमय इभ र न्यु इयरमा होटलमा आउने पर्यटकलाई केकबाट स्वागत गर्ने तयारी हो ।’

डिसेम्बर २४ मा पर्ने क्रिसमस इभ र न्यु इयर इभलाई लक्षित गरी होटलले इभेन्ट सञ्चालन गर्दैछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी लाइभ म्युजिक सहितको इभेन्ट सञ्चालन हुने अपरेशन म्यानेजर बुद्धिमान शर्माले जानकारी दिए । क्रिसमस र न्यु इयरलाई लक्षित गरी होटल बुकिङसमेत सुरु भइसकेको शर्माले बताए । होटलमा ८० वटा कोठा छन् । २ वटा स्विइट, ८ वटा सुपर डिलक्स र ७० वटा डिलक्स कोठा रहेको उनले बताए ।