पहिलो चरणमा हुने निर्वाचनको मौन अवधि मंसिर ७ गते राती १२ बजेपछि


काठमाडौं –  पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ मंसिर ७ गते बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने भएकाले पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न अयोगले आग्रह गरेको छ ।।