शनिवार पोखरामा वाम गठवन्धनको वृहत चुनावीसभा हुने


पोखरा- वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीको आयोजनामा मंसिर ९ गते शनिवार पोखरामा वृहत चुनावीसभा हुने भएको छ ।

अमरसिंहचौरको मैदानमा हुने जिल्लास्तरीय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्वोधन गर्ने वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सभामा जिल्लाका गाउँपालिका तथा महानगरवाट हजारौँको संख्यामा जनतालाई कार्यक्रममा सहभागिता गराउने तयारी रहेको नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले जानकारी दिए ।
कार्यक्रमको तयारी स्वरुप विभिन्न उपसमितिहरु मार्फत जनतालाई कार्यक्रममा स्वतस्फूर्त रुपमा वढि भन्दा वढि सहभागिता गराईने माओवादी केन्द्रका कास्की संयोजक वखानसिंह तमुले जनाए । सभालाई सम्वोधन गर्न आउने दुवै पार्टीका अध्यक्षहरुलाई एरपोर्टमा भव्य स्वागत गरिने माओवादी कास्कीका प्रचार विभाग प्रमुख त्रिभुवन पौडेलले वताए।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा देशका विभिन्न स्थानहरुमा चुनावी सभा आयोजना गर्ने क्रममा कास्कीमा कार्यक्रम हुन लागेको हो ।