सिन्धुपाल्चोकको जुरेमा पहिरो, ८ को शब फेला, ४० घाइतेको उद्धार,बम बिष्फोट गराएर थुनिएको नदि खोल्ने तयारी


काठमाडौं साउन१७ – सिन्धुपाल्चोकको जुरेमा झरेको पहिरोमा परेर अहिले सम्म ८ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी गणेश केसीका अनुसार घटनास्थलमा ८ जनाको शव फेला परेको छ । ४० जना घाइतेको उद्धार गरिएको छ । सयौं हराइरहेका छन् । २ जना महिला, १ बच्चा र ३ जना पुरुषको शव घट्नास्थलमा भेटिएको छ ।
उनले पहरोले थुनिएको नदी कसरी खुलाउने विषय महत्वपूर्ण बनेको बताए । ‘एकैचोटी फुट्यो भने ठूलो धनजनको क्षति हुन सक्छ,’ उनले भने-‘कन्ट्रोल ब्लास्टबाट फुटाउने प्रयास गरिदैंछ ।’ उनले घट्नास्थलदेखि नदी छेउका मध्य र पूर्वका सबै जिल्लालाई सतर्क गराइएको बताए ।
उद्दार गरिएका ८ जनालाई काठमाडौं ल्याइएको छ । दुई वटा हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो । उनीहरुको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । बेल्जियमका नागरिक बुसेलको पनि बी एण्ड बीमा उपचार भइरहेको छ ।
चार जनालाई स्थलमार्गबाट एम्बेलेन्समा ल्याइँदैछ । पहिरोले गाउँनै बगाएकोले डेढ सयभन्दा बढी मानिस वेपत्ता भएको अनुमान छ ।
सिन्धुपाल्चोक-काठमाडौंबाट चीनको सीमा क्षेत्र तातोपानी पुग्ने अरनीको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको छ । राजगमार्गमाथिबाट आएकोे पहिरोले नदी थुनिएर जलाशयमा परिवर्तन भएको छ । नदीको प्राकृतिक बहाव हुननसक्दा ठूलो खतराको सम्भावना छ । थुनिएको पानी एकैचोटी निकास भए ठूलो बाढी आउने सक्ने भएले स्थानीय त्रसित छन् ।

नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरेलले सेनासहित र अन्य निकायको दक्ष प्राविधिक टोलीले घटनास्थलको नजिकबाट अवलोकन गरिहेको बताएका छन् । उनले सेना, सुनकोसी जल विद्युत आयोजना, सडक विभाग र जल उत्पन्न नियन्त्रण विभागका प्राविधकहरुको टोली नदीलाई कसरी खुलाउन सकिन्छ बारे घट्नास्थलमै पुगेर योजना बनाइरहेको बताए ।

सेनाले थप इन्जिनियरको फौज घटनास्थलतर्फ पठाएको पोखरेलले जानकारी दिए । उनले विष्फोटक पदार्थ सहित आवश्यक सामग्री घटनास्थलमा पठाइएको छ । नदीमा रोकिएको पानीलाई ‘कन्ट्रोल’ रुपमा कसरी खोल्ने विषयमा प्राविधिकहरु जुटिरहेको उनले जनाए ।

यस बाहेक सेनाको टोली घटनमा फसेकाहरुको उद्दारमा पनि सक्रिय रहेको छ । सेनाको तीन वटा हेलिकप्टर घटनास्थलमा प्रयोग गरिएको छ ।राति करिब साढे २ बजेतिर पहिरोले बनेको अस्थायी बाँधले थुनिएको नदीमा जलस्तर बढ्दै गएको हो ।

नदी थुनिएको स्थानभन्दा तीन किलोमिटर माथि बाहृबिसे बजारसम्म पानी पुग्न थालेको छ । थुनिएको स्थानभन्दा माथि डुबानको र खोला एकैचोटी खुले पानीको तिव्र बहावले तलतिर ठूलो धनजनको क्षतिको सम्भावना अनुमान गर्दै स्थानीय प्रशासनले नदी छेउछाउका वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।