पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढ्दै


पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।

कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदूर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव्र रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ ।

विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गर्नुभएको थियो । चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस