क्याटलोनिया बिबाद बारे नेपालले मुख खोल्यो, स्पेन अखण्डताको पक्षमा


बार्सिलोना/ स्पेन क्याटलोनिया बिबाद बारे अन्तत:- नेपालले पनि मुख खोलेको छ। क्याटलोनियाका नेताहरुले विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा खेपी रहेका बेला नेपाल सरकारले स्पेनको अखण्डताको पक्षमा बोलेको छ।

स्पेनमा चरम राजनीतिक संकट देखा परेको बेला परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै स्पेनको सार्वभौम सत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई समर्थन गरेको छ। केहि महिना अघि मात्र स्पेनमा दूताबास खोल्ने निर्णय गरेको नेपालले स्पेनको राजनीतिक घटना क्रममा पनि चासो ब्यक्त गरेको हो।

क्याटलोनिया क्षेत्रिय सरकारले स्पेनबाट छुट्टीने स्व: घोषणा गरे पछि स्पेनको केन्द्रिय सरकारले प्रत्यक्ष शासन लागु गरेको छ। स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै चुनावको घोषणा गरेका थिए।प्रधानमन्त्रीको घोषणा अनुसार आउँदो डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव हुनेछ।