जुम्बा (फिटनेश) डान्स गर्नेहरुद्धारा सहयोग


पोखरा – पछिल्लो समय पोखरामा जुम्बा (फिटनेश) डान्स निकै लोकप्रिय बन्दै गइरहेको छ । महिलाहरुले शारिरलाई तन्दुरुस्त बनाउनका लागी जुम्बा डान्स गर्ने प्रचलन बढेको हो । जुम्बा (फिटनेश) डान्स संगै पोखराका महिला दिदीबहिनीहरुलेसामाजिक क्रियाकलापमा समेत सहभागीता जनाएका छन ।

पोखराको अमरसिंहमा रहेको इमेज फिटनेश सेन्टरमा जुम्बा क्लास लिइरहेका महिला दिदीबहिनीले शनिवार पोखरामा छुट्टा छ्ट्टै स्थानमा बालवालिका र कुष्ठ प्रभावित बृद्धबृद्धाहरुलाई न्यानो कपडा, नगद र खाद्यान्न सामाग्री सहयोग गरेका छन । झण्डै दुई दर्जनको संख्यामा रहेका जुम्बा क्लास लिइरहेका महिला दिदीबहिनीहरुले दिपावलीको वेला भैलो खेलेर संकलन भएको नगदबाट न्यानो कपडा किनेर वालवालिका तथा कुष्ठ प्रभावित बृद्धबृद्धाहरुलाई प्रदान गरेको इमेज फिटनेशका सञ्चालक कृष्ण गुरुङले वताइन ।

जुम्बा फिटनेशमा क्लास लिइरहेका मेरिना गुरुङ, प्रिया गुरुङ, सुमि तामाङ, शिला गुरुङ, कृपा गुरुङ श्रेष्ठ, युना गुरुङ, संजीता गुरुङ, सानु गुरुङ, कमला गुरुङ, रोसनी तामाङ, रमा पुन, इन्द्रा पुन (निरमाया दोहोरी सांझ) र कृषा गुरुङको टोलीले पोखरा १५ टुटुङ्गामा रहेको सिर्जनसिल बाल बिकास कार्यक्रम अन्तर्गत सञ्चालित बाल गृह मा रहेको १६ जना बालवालिका र कुष्ठरोग निवारण सघ द्धारा पोखराको टुटुङ्गामा सञ्चालित पोखरा आरोग्य आश्रममा रहेका १४ जना बृद्धबृद्धहरुलाई न्यानो कपडा सहित नगद हस्तान्तरण गरेका थिए । टोलीले बालगृहका बालवालिकाका लागी नगद १० हजार ५ सय र कुष्ठरोगीहरु १४ जनालाई जनही ५ सय रुपैया प्रदान गरेका थिए ।

सो अवसरमा वोल्दै इमेज फिटनेशका सञ्चालक कृष्ण गुरुङले आफुहरुले जुम्बाबाट आफुहरुमात्र तन्दुरुस्त नबनी समाजमा रहेका असक्त, असाह्य र बालवालिकाहरुलाई समेत सहयोग गर्नुपर्छ भन्ने उद्देश्य राखेर अगाडी वढेको र यस्ता सहयोगहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने वताइन ।

सिर्जनसिल बाल बिकास कार्यक्रम अन्तर्गत पोखराको टुटुङ्गामा सञ्चालित बालगृहका ब्यवस्थापक विष्णु पन्थले वर्षेनी इमेज फिटनेश सेन्टरले गरेको सहयोग प्रति आफुहरु आभारी रहेको वताइन । आफ्नो सस्थामा हाल १७ जना बालवालिका रहेको र उनीहरुलाई पढाउनका लागी निकै कठिनाइ परिरहेको वेला इमेज फिटनेशमा जुम्बा क्लास लिइरहेका दिदीबहिनीले गरेको सहयोग निकै ठूलो भएको पन्थको भनाइ रहेको थियो । त्यस्तै कुष्ठरोग निवारण सघ पोखरा आरोग्य आश्रममा रहेका कुष्ठ रोगबाट ग्रसित डिल बहादुर मगरले फिटनेश सेन्टरका दिदी बहिनीहरुको सहयोगले आफुहरु निकै खुसी भएको वताए ।