एमालेअध्यक्ष ओलीद्धारा झापा क्षेत्र नं ५ मा उम्मेदवारी दर्ता


झापा – पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्।

सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराएका हुन्।

एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित भएका थिए।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेता ओलीको मनोनयन पत्रमा लोकबहादुर अधिकारी प्रस्तावक र नेत्रप्रसाद दाहाल समर्थक रहेका छन्।

नेता ओलीको मनोनयन दर्ताका लागि एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको ठूलो पङ्क्ति निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

अपराह्न २ः२० बजे उनी गृहनगर दमकबाट गाडी चढेर उम्मेदवारी दर्ताका लागि चन्द्रगढी आइपुगेका हुन्।

मनोनयनपत्र निर्वाचन अधिकृत शकुन्तला कार्कीलाई हस्तान्तरण गरिसकेपछि नेता ओलीले केहीबेर पत्रकारहरूलाई समय दिएका थिए।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट मुलुकले बहुमतको स्थिर सरकार पाउने विश्वास व्यक्त गर्दै वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि र जनताको हितका लागि आवश्यकता भएको बताए।

सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

झापा क्षेत्र नं ५ मा वाम गठबन्धन र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको छ । रासस