कास्कीमा कांग्रेस उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दर्ता


पोखरा – टिकट बाडफाडमा भएको असन्तुष्टीकै कारण कास्कीमा  कांग्रेस उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी परेको छ ।

कास्की क्षेत्रनम्बर २ ख मा पार्टीबाट टिकट पाएका बिन्दु कुमार थापा बिरुद्ध कांगेस नेता नरेशशंकर पालिखेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको दिन विहिवार पार्टीको आधिकारिक उम्मेदवार भन्दा अघिनै गएर पालिखेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको आरोप लगाउदै पालिखेले बागी उम्मेदवारी दर्ता गराएका हुन् । पालखे यसअघिको स्थानीय निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा पहिले टिकट पाएर पनि पछि खोसिएका ब्यक्ति हुन् । उनलाई उम्मेदवार बनाउने तय भएपनि अन्तिम समयमा पार्टीले निर्णय परिवर्तन गरी रामजी कुँवरलाई टिकट दिएको थियो । त्यति बेलादेखि पार्टी नेतृत्वसँग उनको मन कुँडिएको थियो ।

‘म २५ वर्षदेखि पार्टीका लागि काम गरेको छु, उहाँ २ वर्ष भयो कांग्रेस भएको, त्यही अन्यायका विरूद्ध मेरो उम्मेदवारी हो’ , पालिखेले भने । पालिखे कांग्रेसका महाधिवेशन प्रतिनिध छन् । पार्टीको जिल्ला सचिवसहित रहिसकेका उनी पोखराको पूर्व उपमेयर पनि हुन् ।