छठ पुजाको अवसरमा पोखरामा सरसफाई


पोखरा –  तराई तिर धुमधामले मनाईने छठ पर्व केही वर्षयता पोखरा लगाएतका ठाउँमा पनि धुमधामका साथ मनाइदै छ । छठ मनाउनका लागि पोखराको फेवाताल किनार, केदारेश्वर महादेव मन्दिर, सेती नदि र नारायणथान मन्दिरमा छठ मनाउन तयारी गरिएको छ ।

छठ पुजाको अवसरमा पोखराको धार्मिक तथा पर्यटकीय स्थल केदारेश्वर महादेवमणि मन्दिर परिसरमा बृहत सरसफाई गरिएको छ । छठ पुजाको अवसरमा छठ घाँट स्थल वरिपरी विभिन्न संघ संस्थाको सहभागितामा सरसफाई गरिएको नेपाल भारत (एन.बी.) व्यावसायी समितिका अध्यक्ष भुनेश कुमारले बताउनुभयो ।

समितिको अगुवाईमा भएको सरसफाई अभियानमा समितिका सदस्य तथा पदाधिकारी, नेपाल नाई संघ केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको अध्यक्ष कुमारले बताउनुभयो । कार्यक्रममा मन्दिरका अध्यक्ष डा. लेखनाथ आचार्य, नागरिक समाजका बिष्णुहरी अधिकारी, नाई संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लाल बहादुर ठाकुर, संघका केन्द्रिय सदस्य भैरवलाल ठाकुर, नाई संघका प्रदेश नम्बर ४ का अध्यक्ष वलराम ठाकुर, एन.बी. व्यवसायीका पुर्व बरिष्ठ उपाध्यक्ष अनिल गुप्ता ठाकुर, समितिका सल्लाहकार ववन ठाकुर, रामसिंहा सन, शिवकुमार सिंह लगायतको सहभागिता रहेको थियो । केदारेश्वर मन्दिरको मुख्य गेट देखि छठ घाँट स्थलसम्म सरसफाई गरिएको हो । करिब एक सय जना सरसफाई अभियानमा जुटेको कार्यक्रम संयोजक समेत रहनु भएका अध्यक्ष भुनेस कुमारले जानकारी दिनुभयो ।

त्यसै गरी पोखरामा मनाईने छठ पर्वको अन्य दुई ठाँउमा समेत मंगलबार सरसफाई भएको छ । नदीपुरको नारायणस्थान मन्दिर र रिट्टेघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पुजा मनाउने भए पछि उक्त पुजा स्थलमा सरसफाई भएको हो । विभिन्न छट पुजा समितिहरुले पुजा स्थल वरिपरि सरसफाई तथा पुजा स्थलमा सजिसजावट गर्न लागेकाछन । विगत तीन बर्ष देखि त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउदै आएको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताउनुभयो ।

छठको पुजा गर्न पुजा स्थालका घाटहरुमा केराको खाम सहितको सजिसजावटका सामानले झिलीमिली पार्ने तरखर गरीएको सुतिहारले बताउनुभयो । केहि बर्ष देखि पोखरामा व्यबस्थीत रुपमा छठ पर्व मनाउन थाले पछि छठ पर्वको अवसरमा पोखरामा पनि छुट्टै रौनक हुदै आएको छ ।

२०४४ सालदेखि पोखरामा पनि छठ् पर्व सुरु गरिएको प्राध्यापक तथा छठ पर्व समिति नारायणथान मन्दिर समिति सदस्य देवरानारायण सुतियारले बताउनु भयो । रोजगारीका सिलसिलामा तराई र छिमेकी देश भारताबाट पोखरा आइ बसोवास गर्नेहरु घर जान नपाउने भएकाले घरमा जसरीनै छठ पर्व मनाउन पाउन भन्ने उदेश्यले पोखरामा पनि छठ पर्व मनाउन थालिएको उहाँको भनाई छ ।