मतपत्र सम्बन्धमा प्रतिवेदन पेश गर्न सात सदस्यीय समिति गठन


काठमाण्डौ – निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ।

आयोगको कात्तिक ३ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई/दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्दा परेको थियो। रासस