लायन्स क्लब सेन्ट्रल गार्डेनको निःशुल्क स्वास्थ्य शिविर


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले माछापुच्छे« गाउँपालिका, ल्वाङघलेल–८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा साविकको ल्वाङ्घलेल ८ र ९ वडाका विद्यार्थी र सर्वसाधारण गरी एक सय ७० जनाको स्वास्थ्य निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।


ल्वाङघलेलको बाराही आधारभूत विद्यालयमा उक्त शिविर सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक प्रकाशमान गुरुङले विद्यालयमा आएर क्लबले गरेको सहयोग स्तुत्य रहेको बताए ।

कार्यक्रमबारे प्रकाश पार्दै क्लबका सचिव असफल गौतमले लायन्स क्लब दुई रुपैयाँ छ भने एक रुपैयाँको रोटी खाएर एक रुपैयाँ सहयोग गर्ने संस्था भएको धारणा राख्दै बचेको त्यही एक रुपैयाँले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।


ल्वाङ घलेल हेल्थपोष्टका इन्चार्ज आनन्द बरालले स्वास्थ्य सबैभन्दा ठूलो धन भएकाले सामान्य विमारको पनि समयमै उपचार गराउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रम संयोजक सुनिल सुवेदीले ग्रामीण भेकका बालबालिकाका लागि गरिएको सानो सहयोग र उनीहरू लक्षित गरी सञ्चालन गरिएको शिविर अत्यावश्यक र अतुलनीय शिक्षा हुने बताए ।

सभाध्यक्षको आसनबाट बोल्दै क्लबका प्रथम उपाध्यक्ष कृष्णबहादुर रानाभाटले आजका बालबालिका भोलिका कर्णधार भएकाले असल व्यवहार र कुसल संस्कार आवश्यक रहेको बताए । रानाभाटले थपे, अरुले गरेको सहयोग एकै क्षणको हुने भएकाले हरेक व्यक्ति आफैँमा आत्मनिर्भर हुन आवश्यक छ ।

शिविरमा क्लबले अत्यावश्यक औषधिसमेत निःशुल्क वितरण गरेको थियो ।