एकीकृत माओवादीको विरोधले विनियोजन विधेयकमाथिको छलफल सर्‍यो


काठमाडौं– व्यवस्थापिका संसदमा बिहीबारबाट सुरु हुने भनिएको विनियोजन विधेयकमाथिको छलफल एकीकृत माओवादीको विरोधका कारण छलफल एक हप्ता पर सरेको छ ।

राष्ट्रिय योजना आयोगले झण्डै एकहप्ता ढिलो गरी बुधबारमात्रै बजेट नियोजन पुस्तक ‘रातो किताब’ भाग दुई सभासदहरुलाई उपलब्ध गराएपछि व्यवस्थापिका संसदमा बिहिबारदेखि विनियोजन शीर्षकमाथि छलफल गर्ने सचिवलायले कार्यसूची तय गरेको थियो।
एकीकृत माओवादीले जनयुद्धका सहिद, बेपत्ता परिवारका लागि सरकारले १० लाख रुपैयाँका दरले दिने विषय रातो किताबमा नसमेटेको भन्दै बिरोध गरेको थियो । विरोध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले बिहिबारको कार्यसूचीबाट विनियोजन विधेयकमाथिको छलफलको कार्यक्रम सूचीबाट हटाएका थिए।
यसअघि पूर्वबजेट छलफलमा माओवादीले यो अडान राखेपछि सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएको थियो।

सचिवालयले तय गरेको कार्यसूची अनुसार आजको बैठकमा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यक्रम रहेको थियो।

तर एमाओवादी सहित मधेसवादी दलले त्यसको विरोध गरेपछि सभामुख नेम्वाङले उक्त कार्यक्रम कार्यसूचीबाट हटाउदै विनियोजन विधेयकमाथिको छलफल साउन २२ गतेबाट शुरु हुने जानकारी सदनलाई गराएका थिए।