निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्छ : राष्ट्रपति भण्डारी


काठमाण्डौ – दीपावली तथा छठ पर्वका अवसरमा सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति विद्दादेवी भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताएकि हुन् ।

राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गरेको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उनले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिएको बताए ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पुर्‍याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित नौ दलका नेताहरु सहभागी थिए ।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए ।रासस