नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकीकरण घोषणा


काठमाडौं–नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण घोषणा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।

सो अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा र  लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको लागि भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै पार्टी एक भएको घोषणा गरे ।

सझदारीपत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न भइरहेको भन्दै यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु दुबै पार्टीको कर्तब्य भएकाले एक भएको उल्लेख गरिएको छ ।

यस्तै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्वोधन गर्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।

सो प्रतिवद्धतालाई मुर्तरुप दिन  दुवै दल आगामि दिनमा संविधान संशोधन गर्न लागि पर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । यस्तै लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल वनाउँदै मुलुकलाई समृद्धितर्फ अघि वढाउने विषयमा पनि दुबै दल सहमत भएका छन् ।

यसैगरी यस्तै एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ÷भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गरिने पनि समझदारी भएको सहमतिपत्रमा उल्लेख गरिएको छ  ।