नेपाल प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा


काठमाण्डौ – नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्। अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ।

आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौदेखि प्रयोग गर्दै आएका छन्। उनीहरूलाई यस बारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ। आजको नागरिकमा खबर छापिएकाे छ ।

संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन्। एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएको पाइएको छ । पूरानो भएकाले भारतीय झण्डा भने स्पष्ट चिनिदँन। उनले लामो समयदेखि सोही टोपी प्रयोग गर्दै आइरहेको बताए ।
केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तौ संकेत भेटिएको थियो। उनको टोपीको एकातर्फ ‘मेरा भारत महान’ लेखिएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा उल्लेख भएको ‘स्टिकर’ भेटिएको थियो । यस्तो ‘स्टिकर’ भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए।