भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ढिलाई नगर्न निर्देशन


काठमाडौं – भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई नगर्न व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले  सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले भैरहवा विमानस्थल निर्माणको काम सम्पन्न गर्नेगरी चिनियाँ ठेकेदार कम्पनीसँग भएको सम्झौताको समय आवश्यकता अनुसार थप गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको छ ।
चिनियाँ ठेकेदार कम्पनीले हालसम्म गरेका काम कार्वाही सन्तोषजनक रहेकाले सोही कम्पनीबाट आयोजना सम्पन्न गर्नेगरी सम्झौता गर्न पनि सरकारलाई निर्देशन दिनु परेको समितिका सभापति जुठबहादुर टुहुरे, खडगीले जानकारी दिए ।
भैरहवा अन्तराष्ट्रिय विमानस्थल जुन १५, २०१८ भित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।

समितिले निजगढ विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ । समितिका सभापति टुहुरेलेले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सुचारु गराउन पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले तीन वटै विमानस्थल निर्माणको काममा ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए ।  समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ३ वटै विमानस्थल निर्माणको कामलाई समयमै सम्पन्न गराउन ठेकेदार कम्पनी र प्राविधिकहरुको कामलाई सरकारले कडा निगरानीमा राख्नुपर्नेमा जोड दिएका थिए ।
सरकारले राष्ट्रिय गौरवका ३ वटै आयोजना निर्माणको कामलाई प्राथमिकता दिएपनि अनुगमनको अभावमा ती आयोजनाहरुको काम अपेक्षा अनुसार अघि बढन नसकेको समितिको निष्कर्ष छ ।