गाजाको विद्यालयमा भएको हमलाको भर्त्सना


बिबिसी

– संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाले गाजामा विस्थापित गैरसैनिकहरुले आश्रय लिइरहेका एउटा राष्ट्रसंघीय विद्यालयमाथि भएको बम हमलाको निन्दा गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले उक्त इजरेली  हमलालाई “अतिशयोक्तिपूर्ण” भनेका छन्।
सुतिरहेका बालबालिकामाथि हमला गर्नु भन्दा लज्जाजनक कार्य अरु हुन नसक्ने उनको भनाई थियो। संयुक्त राष्ट्रसंघद्वारा संचालित उक्त विद्यायमा तीनहजार जना भन्दा बढी गैरसैनिकहरुले शरण लिइरहेका छन्।
“म कडाभन्दा कडा शब्दमा यो हमलाको निन्दा गर्दछु। यो अति हो। यस्को औचित्य सावित गर्न सकिंदैन, र घटनाले जवाफदेहिता र न्यायको माग गर्दछ।

“म इजरेल र सम्बन्धित सबैलाई राष्ट्र संघीय भवनहरु र तिनमा आश्रयलिइरहेका महिला, बालबालिका र परिवारहरूको सुरक्षामा अझ धेरै ध्यान दिन पुन: आग्रह गदर्छु,” महासचिब बानले भने ।  उक्त हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो।
एकजना राष्ट्रसंघीय प्रवक्ता क्रिस गनेसले बीबीसीसंग कुरा गर्दै, उक्त विद्यालयमा विस्थापित मानिसहरु रहेका भनेर इजरेललाई १७ पटकसम्म जानकारी गराइएको बताए। इजरेलले आफूहरुले उक्त विद्यालय नजीकैबाट मोर्टार हमला भएपछि प्रतिक्रिया जनाएको बताएको छ ।
एउटा बक्तव्य जारी गर्दै इजरेली सेनाले आफूहरुको प्रारम्भिक अनुसन्धानले जबालियास्थित उक्त विद्यालय नजीकको क्षेत्रबाट उग्रवादीहरुले मोर्टार हमला गरेका देखाएको जनाएको छ । गाजाको शरणार्थी शिविरमा रहेको विद्यालयमा तीनहजार जतिले आश्रय लिइरहेका छन्
इजरेली सरकारका एकजना प्रवक्ता मार्क रेगेभले, उक्त हमला इजरेली तर्फबाट भूलबस भएको सावित भएमा इजरेलले माफी माग्ने बताएका छन्।
गाजामा लगातार दोस्रो दिन पनि सयजना भन्दा बढी प्यालेष्टिनीहरु मारिएका छन्।
मानिसहरुको भिडभाड भएको एउटा बजारमा भएको इजरेली हमलामा मात्र सत्रजना मारिएका थिए।
इजरेली सेनाले उक्त क्षेत्र गाजामा लागु सिमीत मानवीय संघर्ष विराम क्षेत्र भित्र नपर्ने प्रतिक्रिया दिएको बिबिसी नेपाली सेवाको अन्लाईन सस्करणले जनाएको छ ।