बिश्वभरका कस्केलीहरु पोखरामा,सम्मेलनको पूर्व सन्ध्यामा म्याराथन हुँदै


-सन्देश श्रेष्ठ

पोखरा । गैरआवासीय कस्केलीहरु एकजुट हुने भएका छन् । कास्कीबाट विभिन्न देश गएर बसेकाहरु एकजुट हुन लागेका हुन् ।विश्वभरी छरिएर रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्धेश्यले कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाल गठन गरिएको छ ।

परिषदको यही असोज २३ गते सोमबार पहिलो विश्व कास्की सम्मेलन गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाल तदर्थ समितिका संयोजक पूर्णप्रसाद तिम्सिनाले जानकारी दिए ।

‘विश्वभरीका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ हुने सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले गर्ने बताइएको छ । विदेशमा सिकेका सीप, ज्ञान र अनुभव कास्कीमा लगाएर समृद्ध कास्की बनाउने उद्धेश्यले परिषद गठन गरिएको संयोज तिम्सिनाले बताए ।

अहिले विदेशमा रहेका कस्केलीको खोजि अभियान चलिरहेको भन्दै उनले विदेशमा रहेका सबै कस्केलीलाई गोलबद्ध हुन आग्रहसमेत गरे । उनका अनुसार हालसम्म २२ देशमा कस्केली सम्पर्क समाज रहेकाले उनीहरुसँग परामर्श गरेर ति सबै सम्पर्क समाजलाई परिषदमा परिणत गर्ने तयारी भइरहेको छ ।

हालसम्म अमेरीका, बेलायत, स्पेन, पोर्चुगल, बेल्जियम, अष्टे्रलिया, मकाउ, कतार, जापान, नेदरल्याण्ड, दुबई, मलेसिया, कोरिया, साइप्रस, हङकङलगायतका देशहरुमा सम्पर्क भइसकेको छ ।

परिषदमार्फत कास्कीलाई समृद्ध बनाउने अभियान सञ्चालन गरिने संयोजक तिम्सिनाले बताए । उनले भने,’कास्कीलाई समृद्ध बनाउन आवश्यक ज्ञान, सीप, अनुभव र लगानी सबै हामी दिन तयार छौं ।’ यहाँ लगानी गरेर यहिंका बेरोजगार युवालाई रोजगारी दिने उद्धेश्य आफूहरुको रहेको उनको भनाइ छ । त्यस्तै १ सय जना गरीब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि वाषिर्क रुपमा वितरण गर्ने उनले बताए ।

यसैबीच, सम्मेलनको पूर्व सन्ध्यामा परिषदले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज २३ गते सोमबार विहान ७ बजे हाफ म्याराथन प्रतियोगिता गर्ने परिषदका महासचिव गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

पोखरा रंगशालाबाट सुरु हुने दौड पृथ्वीचोक, एयरपोर्ट, मुस्ताङचोक, शहीदचोक, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सिमलचौर, सिद्धार्थचोक, विन्ध्यबासिनी, हरिचोक, सिमपानी, बगर, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै पोखरा उद्योग वाणिज्य संघको कार्यालय गैह्रापाटनमा पुगेर टुंगिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने १ जनालाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।