‘कोही डराउनु पर्दैन,सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो’: केपी ओली


काठमाण्डौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैकविरूद्ध नभएको बताएका छन्।

राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘हाम्रो चुनावी तालमेल कसैका विरुद्धमा छैन। नेपाल र नेपालीको पक्षमा छ। यसै दिशामा अगाडि बढ्नेछौं।’

एमाले, माओेवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता नेपालको आवश्यकता र जनताको आकांक्षा भएको बताए।

नेपालको सामाजिक, आर्थिक, राजनीतिक सुधारका साथै निर्वाचन उपयुक्त होस् भन्ने हेतुले पार्टी एकता गरेको पनि उनले बताए।

यो गठवन्धनले राष्ट्रिय सम्बृद्धिका लागि काम गर्ने भन्दै अध्यक्ष ओलीले भने, ‘कोही डराउनु पर्दैन। सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो। बराबरप्को आधारमा सम्बन्ध बनाउने हाम्रो चाहना हो।’

आगामी चुनावमा तीन दल एउटै चुनाव चिन्ह लिएर लड्ने प्रयास भए पनि यसमा प्राविधिक र कानुनी समस्या भएको उनले बताए।

आफूहरुले नयाँ अध्याय सुरु गरेको बताउँदै एकीकरण संयोजन समिति गठन गरेको बताए। उनले सबै पार्टीका नेतालाई यो अभियानमा उत्साह र खुसीका साथ लाग्न आग्रह पनि गरे।