पत्रकारहरुको अन्तरक्रिया, समाजले आलोचना सहन सक्नु पर्छ – एफ एन.जे.युके अध्यक्ष शर्मा


लण्डन ।

बेलायतबाट प्रकाशित हुने नेपालीपत्र साप्ताहिकले नेपाल पत्रकार महासंघ युके शाखाको सम्मानमा रात्री भोज तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । गत आइतवार लण्डनस्थित याक एण्ड यति रेष्टुरेन्टमा भएको सो कार्यक्रममा बेलायतका कार्यरत पत्रकारको उपस्थिति थियो ।

पत्रकारलाई नेपालीपत्रकी प्रबन्ध निर्देशक रमा लामिछानेले स्वागत गरेकी थिइन् । नेपालीपत्रका निर्देशक राजन कंडेलले बेलायतमा नेपाली मिडियाको भविष्य उज्वल रहेको बताए । पत्रकारहरु हातमा हात मिलाएर अगाडी बढ्नु पर्नेमा निर्देशक कंडेलले जोड दिए ।
नेपाल पत्रकार महासंघ यूके अध्यक्ष चिरन शर्माले बेलायतमा पत्रकारिता गर्न चुनौति पूर्ण रहेको बताए । राष्ट्रिय मुद्दामा पत्रकार सधैं एक ढिक्का भएको स्मरण गर्दै उनले भने, ‘सञ्चारमाध्यमले आलोचनात्मक समाचार प्रकाशन नगरेसम्म समाज परिवर्तन हुन सक्दैन ।’ समाजले पत्रकारहरुलाई आलोचनात्मक समाचार लेख्न प्रयाप्त बतावरण बनाउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका सहअध्यक्ष महेन्द्र कंडेलले गैरआवासीय नेपालीहरुले माग गर्दै आएको नागरिकताको निरन्तरताको बिषयमा पत्रकारहरुले खेल्नुपर्ने भूमिकाको बारे चर्चा गरे ।

कार्यक्रममा उपस्थित पत्रकारले नेपालीपत्र साप्ताहिकको प्रगतिको कामना गर्दै सुझाव समेत दिए । कार्यक्रममा बिबिसी नेपाली सेवाका पत्रकारद्वय सुमन खरेल, भगिरथ योगी, रेडियो कान्तिपुरका यूरोप संयोजक रुपेश सिलवाल, कान्तिपुर सवाददाता नविन पोख्रेल लगायत नेपाल पत्रकार महासंघ युके शाखाका कार्यसमितिका सदस्यहरु तथा केन्द्रीय पार्दशदहरुको उपस्थिति थियो ।