निर्वाचन आयोगले पाँच आयुक्तका लागि विलासी गाडी खरिद गर्ने


काठमाडौं- चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ ।

आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् ।

 

आयोगले स्थानीय तहको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट दिने सहमति जनाएको थियो ।

त्यसअनुसार आयोगले नयाँ गाडी किन्न अहिले अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट मागेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

‘आयोगले प्रमुखसहित पाँचजना आयुक्तका लागि गाडी किन्न ११ करोड ६० लाख रुपैयाँ बजेट मागेर पत्र पठाएको छ’, अर्थका एक अधिकारीले भने, ‘प्रत्येक आयुक्तले अब २ करोड ३२ लाख रुपैयाँका नयाँ गाडी चढ्नेछन् ।’

नयाँ गाडी खरिद आवश्यक नभए पनि सरकारको दबाबमा अर्थले पहिले नै सहमति दिएकाले बजेट रोक्न नसकिने ती अधिकारीले बताए ।