प्रदेश नम्बर २ मा ७३ प्रतिशतभन्दा बढी मतदान


काठमाण्डौ – प्रदेश नम्बर २ मा आज भएको तेस्रो चरणको स्थानिय तह निर्वाचनमा ७३ प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले  जनाएको छ। आयोगले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको समेत उल्लेख गरेको छ।

प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट आयोगलाई प्राप्त भएको जानकारी दिए। ‘हामी जिल्लागत विवरण जुटाउँदै छौं,’ उनले  भने, ‘केही बेरमा विस्तृत विवरण दिन सक्छौं।’

आयोगकी आयुक्त इला शर्माले पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको उल्लेख गर्दै आयोग सफल भएको ट्विट गरेकी छन्। उनले राजनीतिक दल र सुरक्षाकर्मीलाई धन्यवादसमेत दिएकी छन्।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बाढी, डुबान कटान सहेर भए पनि मतदानमा व्यापक सहभागिताले जनताको अधिकार बलियो बनाएको बताए। उनले राजविराजको १५ नम्बर वडाका दुई मतदान केन्द्रबाहेक अन्यन्त्र मतदान सम्पन्न भएको उल्लेख गरे।

‘चर्को गर्मीमा समेत लामबद्ध भएर बसेका मतदाता आतुर देखिएका थिए,’ यादवले भने, ‘सबै राजनीतिक दल र मतदाताको जाँगरले स्थानीय सरकार गठन भई संविधान कार्यान्वयन हुने अवस्था सिर्जना भएको छ।‘ आयोगले प्रदेश २ को निर्वाचनसँगै संविधान कार्यान्वयनको पहिलो खुट्किलो पूरा भएको उल्लेख गरेको छ।

अब प्रदेश र संघको निर्वाचनमा जुट्न पनि आयोगले आह्वान गरेको छ। आयोगले अरुकै नाममा मतदान गर्न खोज्ने ३८ जनालाई नियन्त्रणमा लिइएको र निर्वाचन कानुन उल्लघंन गर्ने १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ।