राष्ट्रियता सुदृढीकरणका लागि एमाले नेतृत्व आवश्यक


काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल संवत, छठ पर्वको उपलक्ष्यमा आज आयोजित शुभकामना कार्यक्रममा उनले भने, ‘एमालेले अवलम्बन गरेको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिका आधारमा भारतसँग भएका असमान सन्धि खारेज गरी नयाँ सम्झौताका लागि पुनरावलोकन गर्न जोड दिइएको छ ।’

नेता खनालले दशैँ कुनै एक जाति विशेषको मात्र नभएर सम्पूर्ण नेपालीले मनाउने राष्ट्र पर्व भएको बताउँदै देशमा मनाइने विभिन्न संस्कृतिले मुलुकलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको धारणा व्यक्त गरे ।

पार्टीका सचिव योगेश भट्टराईले मुलुकमा कायम रहेको भौगोलिक विविधताले विभिन्न संस्कृति र परम्पराको विकास भएको उल्लेख गर्दै आर्थिक र सामाजिक हिसाबले मुलुकलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

देशमा राजनीतिक क्रान्ति पूरा भएको छ, उनले, ‘क्रान्तिपछि मुलुकको पुनःनिर्माण तथा समृद्धि र विकास नयाँ पुस्ताले गर्छ, अब एक शताब्दीसम्मका लागि संघीय समाजवादी व्यवस्थाको अभ्यासलाई सफल बनाए ।’

मञ्चका अध्यक्ष सन्तोष मादेनले मुलुकमा भएका स्रोतसाधनलाई उचित व्यवस्थापन गरी देश र जनतालाई समुन्नत बनाउन एमालेको नेतृत्वको खाँचो औँल्याए । रासस