एमालेलाई जित्नसक्ने कुनै दलनै नभएको ओलीको जिकिर


रौतहट – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले एमालेलाई जित्नसक्ने कुनै दलनै नभएको बताएका छन् । चुनावी प्रचार प्रसारका लागि रौतहट पुगेका उनले स्थानिय तहका सबै निर्वाचनमान एमाले पहिलो हुने जिकिर गरे ।

एमाले मुलुकको एकमात्र राष्ट्रिय पार्टी भएको दाबी गर्दै ओलीले भने,‘एमाले पार्टी पहाडी, मधेशी र हिमाली सबैका हितका लागि सोच्ने, देशका लागि सोच्ने र  एकमात्र राष्ट्रिय पार्टी भएकाले दुई नम्बर प्रदेशमा पनि एक नम्बर हुन्छौ।’

ओलीले स्थानीय तहमा पनि एमाले सरकार जस्तै काम गर्ने नेतृत्वको आवश्यकता रहेको भन्दै ओलीले जनताको लागि काम गर्ने नेतृत्व स्थानीय तहमा पुग्नुपर्ने र त्यस्ता व्‍यक्ति एमालेमा मात्रै रहेको दाबी गरे।

एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै नेता ओलीले आफ्नो पार्टीले कसैप्रति विभेद गर्ने नभई सबैलाई समान व्‍यवहार गर्ने बताए। एमालेको नीति राष्ट्रिय एकताको पक्षमा रहेको ओलीको भनाई थियो।

एमाले मधेस विरोधी नभएको भन्दै ओलीले एमालेविरूद्ध दूश्प्रचार गर्ने पार्टीले अहिलेसम्म केही नगरेको बताए। ‘एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम गरेको छैनन्,’ ओलीले भने,‘बरू मधेसको विकास गर्ने पार्टी एमाले नै हो। मधेसको जनताको लागयि काम गर्न एमाले हर्दम तयार छ।’

एमाले सरकारको पालामा धेरै काम भएको भन्दै ओलीले जनतालाई झुक्याएर राजनिति गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे। ‘जनतालाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले छैन। काम गरेर जनतालाई खुशी राख्ने तर्फ एमाले ध्‍यान केन्द्रित छ,’ उनले भने,‘ एमालेले काम गर्छ, एमाले सरकारको पालामा धेरै काम भएको छ, जुन जनताले देखिसकेका छन्।’

ओलीले एमाले आफूलाई सत्तामा पुर्‍याउन र चुनाव जित्नका लागि विदेशीसँग प्रणाम नगर्ने पार्टी भएको बताए।

‘एमाले सत्तामा जानका लागि कुनै पनि विदेशीसँग प्रणाम गर्दैंन। जनतालाई प्रणाम गरेर बहुमत ल्याउँदै सरकारमा जाने हो।’

४४ वर्ष पहिला भूमिगत अवस्थामा रौतहटबाटै गिरफ्तार भई १४ वर्ष जेल जीवन बिताएको स्मरण गर्दै ओलीले यहाँका जनताहरुमा राजनैतिक चेतना भएको र न्यायपूर्ण आन्दोलनमा सदैव अगाडि रहने जिल्ला भएको समेत बताए।

‘पहिलो र दोस्रो चरणको चुनावमा सत्ताधारीहरुले एमाले कार्यकर्ताहरुको हत्या गरे, घाईते बनाए, मतपत्र च्याते र गर्नसक्ने जति तमासा सबै गरे तर पनि जनताको अपार मायाले एमालेलाई पहिलो हुनबाट रोक्न कसैले सकेन,’ ओलीले भने,‘यो तेस्रो चरणको चुनावमा पनि एमालेलाई कुनै शक्तिले हराउन सक्दैन।’

आक्रोशित मुद्रामा देखिएका ओलीले आफू छोराछोरीका लागि मत माग्न नआएको, मतपत्र च्यात्ने निर्देशन दिन पनि नआएको भन्दै नातावाद, परिवारवाद र भ्रष्टाचारमा डुबेका अनि आफ्नो छोरीको लागि घुँडासम्मको छाला खुइल्याएर नेपाली कांग्रेस समक्ष घुँडा टेक्नेबाट देश विकासको आशा नगर्न समेत आग्रह गरे ।

नेकपा एमाले हत्या हिंसा र आतंकमा कहिल्यै विश्वास नगर्ने भएकाले यस पटकको निर्वाचनमा एमालेले जनताको पवित्र मत देश बनाउनका लागि हुने बताए।अहिले सत्तासिनहरू एमालेको सरकारको पालामा तराई मधेशमा छुट्याएको बजेट आफूले ल्याएको भन्दै झुठा प्रचार गरीरहेका छन्,’ ओलीले भने,‘ २० वर्षसम्म अलपत्र पारेर राखिएको हुलाकि राजमार्गलाई कांग्रेसले अहिले किन सम्झेको?’

नेकपा एमालेको सूर्य चिन्ह अंकित झण्डा कपडाको टालो मात्र नभएर सिंगो देशलाई उज्याले छर्ने संकेत भएको बताउँदै उनले प्रदेश नं २ को स्थानीय निर्वाचनबाट हिमाल पहाड र तराईको बीचमा फाटो ल्याउन खोज्ने तत्वहरु परास्त हुने समेत दाबी गरे।