आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण


काठमाडौं–  प्रदेश नं २ को निर्वाचनका क्रममा व्यापक निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार निर्वाचन आयोगकी सदस्य मोहना अन्सारी निर्वाचन आयोग पुगेर निर्वाचन प्रचारप्रसारका क्रममा भएका मानवअधिकार उल्लंघनका घटना हुन नदिन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

अन्सारीले आयोग कार्यलयमा निर्वाचन आयुक्तहरू इला शर्मा र इश्वरी प्रसाद पौड्याललाई भेटेर मानवअधिकार उल्लंघन, निर्वाचनमा मतदाता, उम्मेदवार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा लगायतका विषयमा छलफल गरेकी हुन् ।

सो क्रममा अन्सारीले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग रोक्नका लागि निर्वाचन आयोगले गरेको प्रयास स्मरण गर्दै सरकारी वा गैरसरकारी संघ संगठनहरू मानव अधिकारको रक्षाका लागि प्रतिबद्ध रहनुपर्ने आवश्यकता औंल्याइन् ।

जवाफमा निर्वाचन आयुक्त इला शर्माले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा संचालन गर्न निर्वाचन आयोगले लागू गरेको आचारसंहिता सबै क्षेत्रबाट पालना हुनुपर्ने र यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका महत्वपूर्ण रहने भनाइ राखेको आयोग प्रवक्ता नवराज ढकालले बताए ।

अर्का आयुक्त पौड्यालले निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच भएको समझदारी अनुसार मानव अधिकार आयोगबाट निर्वाचनमा मानव अधिकारको सम्मान गर्ने सम्बन्धमा भएका प्रयासले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा संचालन गर्न मद्दत पग्ने बताए ।