निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गरायो : एमाले नेता खरेल


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता अग्नी खरेलले निर्वाचन आयोगका पछिल्ला गतिविधिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराएको आरोप लगाएका छन् ।  सरकारले निर्वाचनको मुखैमा जिल्ला न्यायाधिशहरुको सरुवा गरेर निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराउने काम हुँदा समेत निर्वाचन आयोग मौन बसेको भन्दै  उनले आपत्ति जनाए ।

बुधबार बसेको न्यायपरिषद बैठकले निर्वाचन आचारसंहिता विपरित १ सय ९७ जना जिल्ला न्यायाधिशलाई सरुवा गरेकोमा एमालले आपत्ति जनाएको छ । विहिबार निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलहरुबीचको छलफल कार्यक्रममा बोल्दै एमाले नेता खरेलले निर्वाचनको मुखैमा निर्वाचन आयोगले सरकार र सत्तारुढ दलहरुको पक्षपोषण गरिरहेको आरोप पनि लगाए । उनले निर्वाचन आयोगका पदाधिकारीहरुलाई पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचन सम्पन्न गराउने सक्ने मुख्य निर्वाचन अधिकृतहरुले तेस्रो चरणको निर्वाचन गराउन नसक्ने अवस्था कसरी उत्पन्न भयो भनेर प्रश्न गरे । उनले सरकार आचारसंहिता विपरित काम गर्ने अनि निर्वाचन आयोग मौन बस्ने अवस्थाले प्रदेश नम्बर २ को निर्वाचनलाई शंकास्पद बनाइ दिएको तर्क गरे ।
नेता खरेलले जिल्ला न्यायाधिशहरुको सरुवा नगर्न आफ्नो पार्टीले निर्वाचन आयोगको पटक पटक ध्यानाकर्षण गराउँदै आएको पनि स्मरण गराए ।