तडकभडक गर्ने उम्मेद्धवारलाई ‘अन द स्पट’ कारबाही गर्छौं : डा. अयोधिप्रसाद यादव


काठमाण्डौ – २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले चेतावनी दिएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले यस्तो बताएका हुन् ।  ‘चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी ‘अन द स्पट’ कारबाही गर्छौं,’ उनले भने, ‘उम्मेद्धवारहरुको उम्मेद्धवारी नै खारेजसम्म गरिदिन्छौं।’

उनले मधेशमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुनेसमेत बताए।साक्षात्कारमा बोल्दै उनले उम्मेद्धवारहरुले खर्च गरेको भए ती उम्मेद्धवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे।

चुनाव खर्चिलो भयो सामान्य मानिसले लड्नै नसक्ने अवस्था आयो भनि भन्ने सञ्चारकर्मीको प्रश्नमायादवले भने, ‘यसलाई अन्यथा लिनुहुन्न अहिले मुलुक सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भइसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो।’

निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखे।

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह भने छैन।’

आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले जनाए। यादवले अगाडि भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता भयो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवाद गर्न चाहँदैन्।’

यस्तै उनले निर्वाचन आचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’

यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे। उनले भने,‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भए पनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ।’

उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँग जोडेर हेर्न समेत उनले आग्रह गरे । यादवले भने,‘२० वर्षपछि निर्वाचन हुँदैछ, मतदाताहरु ज्यादै उत्साही छन्, उहाँहरुले होलीको पर्वजस्तो, रंग र अविर लगाएर उत्साह मनाईरहनुभएको छ, आचारसंहिता पनि उल्लंघन भएका घट्नाहरु आईरहेका छन्, तर हामीले कडाईका साथ नियमन गरिरहेका छौं।’