सम्पादकहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न


पोखरा – सूचना विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा पोखरामा आयोजना भएको सम्पादकहरुको लागि अभिमुखीकरण कार्यक्रम आईतवार समापन भएको छ ।

छापा, विद्युतिय तथा अनलाईन संचारमाध्यममा कार्यरत सम्पादकहरुको लागि शुक्रवार देखी अभिमुखीकरण तालिम सुरु भएको हो । अभिमुखीकरणमा ३५ जना सम्पादकहरुले सहभागिता जनाए । सहभागिहरुलाई पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष सुरेश आचार्य र भाषाविद् शरच्चन्द्र वस्तीले समाचारको भाषा,सम्पादकिय तथा हेडलाईन लेखन लगायतका विविध विषयमा ज्ञान दिए ।

अभिमुखीकरण कार्यक्रमवाट समाचार लेखन र सम्पादनमा अव सुधार हुने विश्वास व्यक्त गर्दै आचार्यले सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न समेत आग्रह गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आउने दिनहरुमा पनि संचारकर्मीहरुको लागि उपयोगि हुने तालिमहरु आयोजना गर्दै जाने विश्वास दिलाए । सहभागिहरुको तर्फवाट अग्रज पत्रकार नारायण कार्कीले आफ्नो पत्रकारिताको जीवनमा अरुभन्दा यो कार्यक्रम वढि उपयोगि पाएको अनुभव सुनाए ।

पत्रकार केशवशरण लामिछानेले कार्यक्रम उपयोगि भएको भनाई राख्दै आगामि दिनहरुमा समाचारका सवै पक्षहरुका वारेमा एउटै कार्यक्रममा छलफल गुर्नभन्दा पनि कुनै एक विषयवस्तुमा मात्र आधारित भएर कार्यक्रम गर्दा अझ वढि प्रभावकारी हुने विचार व्यक्त गरे । सहभागिहरुको तर्फवाट जमुना वर्षा शर्मा, र कमल पौडेल अथकले पनि प्रकाशित समाचारलाई विषयवस्तु वनाएर त्यसैमा छलफल गरि सिकाउने कार्यवाट व्यवहारिक रुपमा ज्ञान हासिल भएको अनुभव सुनाए ।