विश्व फिजियो थेरापी दिवसको अवसरमा निःशुल्क फिजियो थेरापी सेवा


पोखरा – विश्व फिजियो थेरापी दिवसको अवसरमा पोखरामा शनिबार भएको निःशुल्क फिजियो थेरापी सेवामा ७५ जना लाभान्वित भएका छन् । नेपाल फिजियो थेरापी संघ कास्कीको आयोजनामा पोखराको चिप्लेढुङ्गामा गरिएको निःशुल्क फिजियो थेरापी सेवामा उनीहरु लाभान्वित भएका हुन् ।

निःशुल्क फिजियो थेरापी सेवाको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केक काटेर उद्घाटन गरेका थिए । विहान ७ः३० बजेदेखी शुरु भएको सेवा अपराह्न ३ बजेसम्म भएको थियो नेपाल फिजियो थेरापी संघ कास्कीका अध्यक्ष डा.खड्ग गुरुङले जानकारी दिए । निःशुल्क फिजियो थेरापी सेवामा डा.खड्ग गुरुङ, साहकृष्ण सुनुवार, अनिलबाबु पराजुलीलगायतका फिजियोथेरापिष्टहरुले चेकजाँच गर्दै हाड, जोर्नी तथा नशा सम्बन्धी रोग भएकाहरुले गर्ने शारिरिक अभ्यासबारे जानकारी गराएका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फिजियो थेरापी विरामीको पहिलो विकल्प बनाउनुपर्ने बताए । उनले भने,‘नशा सम्बनधी रोगका विरामीको संख्या दिनानुदिन बढिरहेको छ, त्यसले अहिलेसम्म अन्तिम विकल्पको रुपमा रहेको फिजियो थेरापीलाई पहिलो विकल्प बनाउन आवश्यक छ ।’ उनले संस्थागत सामाजिक उत्तरदायीत्व बहन गरेर फिजियो थेरापी संघले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

फिजियो थेरापी दिवसको अवसरमा फिजियो थेरापीष्ट भएर लामो समयसम्म सेवा गरेका साहकृष्ण सुनुवारलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष खड्ग गुरुङले प्रमाणपत्र र खादा लगाएर उनलाई सम्मान गरेका थिए । सुनुवार करीब २७ वर्षदेखी फिजियो थेरापी सेवामा संलग्न छन् ।