कालिका लघुवित्त विकास बैंकको पामे शाखा उद्घाटन


पोखरा । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि. शाखा कार्यालय पामे कास्कीको समुद्घाटन नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले गरेका छन् ।

उनले कालिका लघुवित्त बैंकले पछिल्लो समयमा राम्रो प्रगति गरेको जानकारी आएको तर सुशासनको विषयमा अलि गम्भिर रहनुपर्ने सुझाव दिंदै आगामी दिनमा महिला दिदिवहिनीहरुले बैंकले दिएको सुविधाको भरपुर उपयोग गरि आर्थिक सम्वृद्धि तर्फ लाग्न उत्प्रेरित गर्नुभयो ।

बैंकले विस्तार गरेका नयाँ शाखाहरु मध्ये कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २४ मा स्थापित शाखा कार्यालयको उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बैंकको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले महानगरपालिका भइरहेको सन्दर्भमा कुनै बैंकहरुको उपस्थिति नरहेको पामे बजारमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले लघुवित्त कार्यक्रम सुचारु गरेको बताए ।

स्थानीय एवं बैंकका समूह सदस्य विष्णुमाया तिमिल्सिनाले महिलाहरुलाई आत्म निर्भर बनाउनको लागि बैंकले राम्रो भूमिका निर्वाह गरेको र आफूहरुले सोचेको भन्दा राम्रो तरिकाले सेवा लिइरहेको बताए ।

कार्यक्रममा वडा नं. २४ का वडा सदस्य अग्नीधर त्रिपाठीले बैंकले विकासको बाटो खुलाएको र महिलाहरुको आयआर्जनको लागि राम्रो बाटो खुलेकोले बैंक प्रति स्थानीय जनता आभारी रहेको बताए ।

कार्यक्रममा उद्घाटन ताम्रपत्र प्रमुख अतिथिले शाखा प्रमुख ममता डुम्रेलाई हस्तान्तरण गरेका थिए भने बैंकको तर्फबाट उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्ट बैंक पोखराका प्रमुख पोमनाथ गौतम, बैंक अफ काठमाण्डौ पोखरा शाखा प्रमुख योगेन्द्र पुन, सिद्धार्थ बैंक लि. पोखरा शाखा प्रमुख प्रदिप श्रेष्ठ, नेपाल टेलिभिजनका पत्रकार मनोज श्रेष्ठ, छाँयाकार प्रनिश श्रेष्ठ, स्थानीय समाजसेवी एकनारायण त्रिपाठी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।

शाखा प्रमुख ममता डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको ओखरबजार शाखा प्रबन्धक राजेश श्रेष्ठले स्वागत एवं केन्द्रिय कार्यालय वालिङका प्रशासनिक अधिकृत ख्यामकान्त अर्यालले कार्यक्रम संचालन गरेका थिए ।