प्रशासकीय अदालतको काम कार्वाहीप्रति प्रधानन्यायाधीश असन्तुष्ट


काठमाडौं– प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रशासकीय अदालतको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालत कर्तव्यच्यूत भएको पनि स्पष्ट पारे । उनले प्रशासकीय अदालतको काम कार्वाही अधूरो, अपूरो र हुनुपर्ने जस्तो नभएकोतर्फ पनि सचेत गराए ।

बुधबार काठमाडौंमा आयोजित प्रशासकीय अदालतको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले प्रशासकीय मुद्दाहरुको चाङ अदालतमा विचाराधिन रहेकोमा आफू पिरोलिने गरेको पनि उल्लेख गरे ।

उनले प्रशासकीय अदालतले कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न विश्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि नेपालमा त्यसो हुन नसकेको आफू दुःखी भएको पनि बताए । प्रधानन्यायाधीश पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार नै संकुचित हुँदै जानु आमजनताको हितमा नरहेको पनि स्पष्ट पारे ।

प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालतले प्रशासनिक संरचनाको व्यवस्थापन गरी आम जनतालाई चित्तबुझ्दो न्याय दिन सक्षम हुनुपर्ने पनि बताए । उनले संवैधानिक अदालत र प्रशासकीय अदालत दुवैले आमजनतालाई न्याय दिने काममा ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए ।