सरकारको विकल्प खोज्ने एमाले उपाध्यक्ष रावलको चेतावनी


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन् । वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्त गरिरहेको भन्दै उनले तत्काल नियुक्ति नरोकिए सरकारको विकल्प खोज्ने बताएका हुन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका उपाध्यक्ष रावलले वर्तमान सरकारको म्याद चार महिनामात्रै बाँकी रहेको उल्लेख गर्दै भने, ‘यो सरकारको म्याद अब चार महिनामात्रै बाँकी छ, तर अहिले प्रदेशहरुमा धमाधम प्रशासकहरु नियुक्त गरिरहेको छ भन्ने कुरा आएको छ, त्यसको लागि हामीसँग कुनै परामर्श गरेको छैन, यदि यसैगरी स्वेच्छाचारी ढंगले नियुक्त गरियो भने एमालेले प्रतिवाद गर्छ, हामी हदैसम्मको कदम चाल्न बाध्य हुनेछौं ।’

साक्षात्कारमा उनले निर्वाचन मिति घोषणा भैसकेको र निर्वाचन आचारसंहिता समेत लागु भैसकेको अवस्थामा सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध मनपरी र स्वेच्छचारी ढंगले कर्मचारीहरुलाई जथाभावी चलाउने काम गरेको आरोप लगाए । उनले भने, ‘निर्वाचन आयोगकै सचिवलाई सरकारले तीनचोटी सरुवा गर्यो, अब यस्तो काम बन्द गरोस् ।’

त्यस्तै उनले वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको समेत आरोप लगाए । रावलले भने, ‘वर्तमान सरकारले नेपाल स्काउटको २२ रोपनी जग्गा हत्याउन प्रयास गर्यो, यो कुरा आयोगका पदाधिकारीहरुले थाहा पाएर विरोध गर्नुभएको थियो, सरकारले आयोग नै विघटन गर्यो ।’

प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रवीच भएको चुनावी गठबन्धनको औचित्यमा पनि उनले प्रश्न उठाए । रावलले भने, ‘यो गठबन्धनको औचित्य के हो ? कुन नैतिकता र विचार वा सिद्धान्तका आधारमा उहाँहरुले गठबन्धन गर्नुभएको छ ?’

संशोधन प्रस्ताव संसदमा असफल भएपछि सरकार प्रमुखले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै रावलले भने, ‘सरकारमा किन टाँसिएर बसेको होलान् ?’