बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद


काठमाण्डौ – बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् ।

यसैबीच ८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार थप तीन व्यक्तिलाई पक्राउ गरेको छ । रसुवाबाट दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परेका हुन् । त्यस्तै, महानगरीय अपराध महाशाखाले शेर्पा थरका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनी फरार रहेका चिनियाँ नागरिक जिया क्विङका साथी हुन् । क्विङको ठमेलमा दुईवटा होटेल छ । रसुवामा पक्राउ परेका दुवै गाडीचालक हुन् । उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए ।

लामो समयदेखि नेपालमा बिजनेस भिसामा बस्दै आएका चिनियाँ नागरिक भने परिवारसहित नै फरार भएका छन् । तस्करीको व्यवस्थापन उनले गरे पनि सो सुनमा धेरै व्यक्तिको लगानी रहेको स्रोत बताउँछ । काठमाडौंका केही सुनपसलेदेखि भारतीय व्यापारीहरूको समेत संलग्नता रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।