चुनावको मुखैमा मच्चियो राजपामा भाँडभैलो


काठमाण्डौ – सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए ।

काठमाडौंमा मंगलबार दिउँसो उम्मेदवारको अन्तिम नामावली घोषणा गरेपछि मधेसका कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएको छ ।

श्रीवास्तवले त पार्टी परित्याग घोषणा गर्दै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

क्षयीकरणतर्फ उन्मुख
वीरगन्जमा सल्किएको असन्तुष्टिले दुई नम्बर प्रदेशलाई नै गाँज्ने संकेत देखिएको छ । उसै पनि विवादमा फसेको राजपामा चुनावको मुखैमा भाँडभैलो मच्चिएको छ । सर्लाहीमा उम्मेदवारको नामावली सार्वजनिक भएलगत्तै पार्टीका महासचिव जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन् ।

६ वटा मधेसी पार्टी मिलेर एक बनेको राजपा नेपाल मधेसको बलियो शक्तिका रूपमा उदय हुने आकलन भइरहँदा चुनावको मुखैमा झन् कमजोर देखिन थालेको छ । अध्यक्ष मण्डलका एक नेताले पार्टी क्षयीकरणतर्फ उन्मुख भएको बताए ।

गुरु-चेला भिडन्त
श्रीवास्तवले राजपामा पैसाको चलखेल भएकाले आफ्नो नाम काटिएको दाबी गरेका छन् ।

श्रीवास्तवसँगै राजपाका केन्द्रीय सदस्य शशिकपुर मिया, पुरुषोत्तमलाल झा, लक्ष्मीकान्त तिवारी, किशोरी यादवले पनि राजपाबाट राजीनामा दिएका छन् ।

राजनीतिक यात्रामा गुरु र चेला भनेर चिनिएका श्रीवास्तव र सिंह ०७० सालको संविधानसभा निर्वाचनमा पनि एउटै क्षेत्र पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए ।

त्यसबेला श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट र सिंह तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट मैदानमा थिए ।

कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर अमात्य निर्वाचित भएको उक्त निर्वाचनमा श्रीवास्तव दोस्रो स्थानमा र सिंह तेस्रो स्थानमा सीमित भएका थिए ।