राष्ट्रिय जनमोर्चाले नयाँ शक्ति पार्टीसँग कार्यगत एकता र चुनावी तालमेल गर्ने


काठमाडौं– राष्ट्रिय जनमोर्चाले तेस्रो चरणको स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीसँग कार्यगत एकता र चुनावी तालमेल गर्ने भएको छ ।

मोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तेस्रो चरणको स्थानीय निर्वाचनमा पुरानो चुनावी रणनीति बदल्दै नयाँ शक्ति पार्टीसँग कार्यगत एकता र चुनावी तालमेल गर्ने बताएका हुन् ।

यसअघि नयाँ शक्ति पार्टीले मधेशवादीहरुसँग एकता वा तालमेल गरी उनीहरुका राष्ट्रघाती एजेण्डाहरुलाई समर्थन गर्ने नीति अपनाएकाले त्यससँग कुनै पनि प्रकारको कार्यगत एकता वा तालमेल नगर्ने निर्णय गरेकोमा अहिले परिवर्तन गरेको जनाएका छन् । केसीले नयाँ शक्तिको उनीहरुसँगको एकता नहुने गरी टुङ्गीएकोले नयाँ शक्ति पार्टीसँग कार्यगत एकता वा चुनावी तालमेल गर्न सकिने पार्टीले निर्णय गरेको बताएका छन् ।

त्यस्तै जनमोर्चाले निर्वाचन क्षेत्र निर्धारण आयोगले संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरी नेपाल सरकार र निर्वाचन आयोगलाई बुझाएको प्रतिवेदनप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।

आयोगले ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरेर क्षेत्रीय असन्तुलन भएको भन्दै यसले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर असर पुग्ने जनाएको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रमसँग नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले कार्यगत एकताको सहमति गरिसकेका छन् । नयाँ शक्तिपार्टीले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग कार्यगत एकता गर्दै फोरमकै चिन्हमा चुनाव लडेको थियो । यसपाली भने नयाँ शक्तिले नेकपा संयुक्त चुनाव चिन्ह सापटी लिएको छ ।