भ्रमण अपेक्षा भन्दा बढि सफल – भारतीय विदेशमन्त्री


काठमाडौं, श्रावण ११

– भारतीय विदेशमन्त्री सुषमा स्वराजले तीनदिने नेपाल भ्रमणलाई आपेक्षा भन्दा बढि सफल भएको भनेकी छिन् ।  पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै स्वरजाले नेपाल भ्रमणबाट आफूले सोचेभन्दा पनि धेरै ठूलो सफलता पाएको बताइन् ।

नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले शक्तिशाली सरकार बनाएको दुई महिनामै उनले नेपाल भ्रमण गरेकी हुन् । उनले राजनीतिक स्तरमा छलफल र संयुक्त आयोग वैठकलाई सफलताका आधारका रुपमा प्रस्तुत गरिन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वराजले आफू सन्तुष्ट भएर दिल्ली फर्किन लागेको बताइन् । ‘नेपाल भ्रमणबाट सोचेभन्दा धेरै सफलत पाएँ, हामीबीच २६ बुँदामा सहमति भएको छ, अब निश्चित मार्गचित्र बनाएर त्यसलाई दुबै देशको हितमा हुने गरी कार्यान्वयन गर्दै जानेछौं’ उनले भनिन् ।

‘यस्तो उच्चस्तरको भ्रमण र छलफल निरन्तर हुनुपर्छ,’ आइतबार स्वदेश र्फकनुअघि उनले विमानस्थलमा संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रियामा भनिन् , नेपाल-भारत संयुक्त आयोगको बैठक २३ वर्षपछि बल्ल भएको हो । यसका लागि नेपालले लगातार आग्रह गर्दै आए पनि भारतले मानिरहेको थिएन ।

स्वराजले आइतबार विहान स्वदेशफिर्तीअघि एमाले कार्यवाहक अध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसहितका पदाधिकारीहरूसँग भेटवार्ता गरिन । हायत होटलमा भएको वार्तामा उनले द्धिपक्षीय सम्बन्धलाई सुदृढ बनाउँदै नयाँ शिरामा अघि बढाउन भारतीय इच्छुक रहेको बताइन ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त बैठक र समकक्षी स्वराजको भ्रमण निकै सफल रहेको बताए । ‘यसले राजनीतिक स्तरको सहकार्य तथा अन्तरक्रियाको बाटो खोलेको छ,’ उनले भने । दुई पक्षीय अविश्वास घटाउँदै सम्बन्धलाई उचाइमा पुर्‍याउन आयोग बैठकलेे आधार तयार गरेको उनको विश्लेषण छ ।

मोदी आगामी आइतबार बिहान साडे १० बजे बिशेष विमानबाट काठमाडौं आउने तय भएको छ ।