अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस पोखरामा मनाइयो,चित्रकला प्रतियोगितामा बास्तोला प्रथम


पोखरा – अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिवार पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता गरि मनाइएको छ । ९ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पंछी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका विभिन्न प्रजातीका फोटो प्रदर्शनी, गिद्ध संरक्षण सम्वन्धी बिद्यालय स्तयरिय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोड्को कार्यालय प्राङ्गणमा भएको फोटो प्रदर्शनीमा नेपालमा पाइने ९ प्रजातिका गिद्ध मध्ये ८ प्रजातीका गिद्धका गतिविधी , गिद्धको महत्व, विश्वमै लोपोन्मुख हुनुका कारण र संरक्षणकालागि गर्न सकीने योगदान विषय समेटिएका ४० वटा फोटो राखिएका थिए । विश्वमा २३ प्रजातीका गिद्ध पाइन्छन् । दक्षिण एशियामा ९ प्रजातीका गिद्ध पाइन्छन् । प्रदर्शनमीमा एक दर्शक देखि गिद्ध संरक्षण अभियानमा लागेका अन्नपूर्ण पोष्टका संवाददाता, फोटो पत्रकार कृष्णमणि बरालले खिचेका गिद्धका तस्विर राखिएका थिए ।

यसै गरि फोटो पत्रकार राम गुरुङ, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमीरे र सचिव हेमन्त ढकालले खिचेका गिद्धका तस्विर पनि प्रदर्शनीमा राखिएको थियो । गिद्ध फोटो प्रदर्शनीमा विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी गरि करिव तीन सय जना सहभागी रहेको समाजका सचिव हेमन्त ढकालले जानकारी दिए ।
एक हप्ता सम्म मनाइने गिद्ध सचेतना कार्यक्रम अन्तर्गत गिद्ध संरक्षण यात्रा समेत गरिने पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमीरेले सुनाए ।

सिनो खाएर वातावरण सफा गर्ने भएकोले गिद्धलाई प्रकृतिको कुचीकार समेत भनिन्छ । गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्धको संरक्षणमा जनसहभागीता जुटाउन गिद्ध सचेतना कार्यक्रम गरिएको पत्रकार कृष्णमणि बरालले बताए । सन् २००९ देखि अन्तर्राट्रिय गिद्ध सचेतना दिवस मनाउन थालीएको हो । यस अघि अफ्रीकामा मात्र गिद्ध संरक्षणकालागि गिच सचेतना दिवस मनाइन्थ्यो । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दर्शकमा गिद्धको संख्या ९० प्रतिशत भन्दा बढिले घटेको पाइएको छ । सिनो खाएर हैजा, रेवीज रोग फैलन नदिन महत्वपूर्ण भूमीका खेल्ने गिद्धलाई प्रकृतिको कुचिकार भनिएको हो ।

फोटो प्रदर्शनी कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु त्रिपाठीले गिद्ध संरक्षण र पर्यापयटनको विकास संगसंगै गर्नु पर्ने बताए । नेपाल पर्यटन बोड् पोखराका प्रमुख उदय भट्राईले वातावरण स्वच्छ राख्न महत्वपूर्ण भूमीका खेल्ने गिद्धको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए । गिद्ध विनासको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । यो औषधी प्रयोग गरि उपचार गराइएका पशुहरु उपचारको क्रममा मृत्यु भए र गिद्धले खाएमा मृगौलाले काम गर्न छोडी केहि दिननमै गिद्धहरु मर्ने गर्दछन् ।

औषधीको प्रयोगको कारण दक्षिण एशियामा ठुलो संख्यामा गिद्ध मरेको बिज्ञहरु बताउँछन् । नेपाल सरकार, औषधी व्यवस्था विभागले यस औषधीलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिवन्ध लगाई त्यसको बिकल्पमा गिद्ध लगाएत अरु पंछि र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधी बजारमा ल्याई प्रयोग हुँदै आएको छ । नेपालमा पाइने डंगर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध अतीनै संकटमा परेका गिद्धहरु हुन् । गिद्ध संरक्षणकालागि गिद्धलाई सुद्ध आहारा उपलब्ध गराउन गिद्धकालागि रेष्टुरेण्ट पनि संचालनमा छन् । कास्कीको घाचोकमा पनि जटायु रेष्टुरेण्ट संचालनमा छ ।

चित्रकला प्रतियोगितामा बास्तोला प्रथम

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा पोखरामा भएको संरक्षण चित्रकला प्रदर्शनीमा पोखराको पश्चिमाञ्ल माध्यामिक विद्यालयका कपील बास्तोला प्रथम भएका छन् । यसै गरि सेन्टमेरिज माध्यामीक बिद्यालयका पोखराकी नम्रता पौडेल दोस्रो र कान्तिपुर एकेडेमीका मञ्जील रानाभाट तेस्रो भएका छन् ।

चित्रकला प्रतियोगितामा गण्डकी बोडीङ स्कूलकी दिप्ती गुरुङ र पश्चिमाञ्चल माध्यामीक बिद्यालयकी विजीता पालीखे चौथो भएका छन् । बिजेता बिद्यार्थीहरुलाई ट्रफी मेडल र प्रमाण पत्र पदान गरिएको थियो । कार्यक्रममा बोल्दै चित्रकला प्रतियोगिताका निर्णायक पदम गुरुङले लोपोन्मुख गिद्ध संरक्षण सन्देश दिने सबै उत्कृष्ट चित्रका बिच चार उत्कृष्ट छान्न निकै मुस्कील परेको बताए ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत ऋषि बराल, हिमालयन डटर्स क्लवकी अध्यक्ष सुनिता गुरुङ लगाएतले वातावरण सफाईमा महत्वपूर्ण योगदान दिने गिद्धको संरक्षण अभियानलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।