अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जीत तामाङ बिजयी


काठमाण्डौ – नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीमा रञ्जीत तामाङ बिजयी भएका छन् ।

शनिबार बिहान सकिएको मतगणनामा तामाङले ८ सय ४५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनिल कुमार शर्माले ८ सय २२ मत पाएका छन् ।

अखिल क्रान्तिकारीको इतिहासमा निर्वाचनबाट नेतृत्व चयन भएको यो पहिलो अवसर हो । नेकपा माओवादी केन्द्रमा र उसका कुनै पनि भातृ संगठनमा मतदानबाट अहिलेसम्म नेतृत्व चयन भएको छैन ।

अखिल क्रान्तिकारीको हरेक अधिवेशनमा पार्टी नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयन गर्ने गरेको थियो । यसपटक भने माओवादी केन्द्रले विद्यार्थीलाई नेतृत्व चयन गर्न खुला छोडेको हो।

नेतृत्वले औपचारीक रुपमा केही नबोलपनि केन्द्रीय स्तरका प्रभावशाली नेताहरु आफ्ना पक्षका विद्यार्थी नेताहरुलाई जिताउन लागेका थिए ।

अध्यक्षमा बिजयी तामाङ माओवादी नेता बर्षमान पुन निकटका हुन् भने शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन ।

क्रान्तिकारीको खुला उपाध्यक्षमा तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा, विजय गौतम विजयी भएका छन्।

छात्रा उपाध्यक्षमा पञ्चा सिंह,मधेसी उपाध्यक्षमा रविकिरण यादब जनजाति उपाध्यक्षमा दिपेशकुमार पुन र दलित उपाध्यक्षमा इन्द्रकुमार भुषाल बिजयी भएका छन् ।

महासचिवमा उत्तम कुमार अधिकारी विजयी भएका छन् भने उपमहासचिवमा तुकमान महरा र गणेशप्रसाद मैनाली बिजयी भएका छन् ।

निर्वाचनबाट ३३ जना पदाधिकारी सहित ३४३ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको क्रान्तिकारीका नवनिर्वाचित उपमहासचिव गणेशप्रसाद मैनालीले सेतोपाटीलाई बताए ।