सरकारबाटै सबैभन्दा बढी आचार संहिताको उलंघनका घटना


काठमाडौं – राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेकोप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । उनले आचार संहिता उल्लंघनविरुद्ध शून्य सहनशीलता अपनाइने पनि बताए ।

शुक्रबार आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा डा. यादवले भने, ‘आचार संहिता पालना विरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइने छ ।’

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय चुनावको अनुगमनकर्तालाई डा. यादवले भने, ‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतको नाममा आचार संहिता उलंघनको घटना भइरहेका छन् ।’

सरकारबाटै सबैभन्दा बढी आचार संहिताको उलंघनका घटना भएको उनले बताए । आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि आयोगले नछाड्ने भन्दै डा. यादवले मनोनयन अवधि र मनोनयन पछिको समय बढी संवेदनशील हुने हुँदा विशेष चनाखो हुन अनुगमनकर्ताहरूलाई निर्देशन दिए ।

समन्वय अभावले हुने कमी कमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्ने यादवको भनाइ थियो ।

संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोगलाई विभागको सरह सरकारले व्यवहार गरेको यादवले गुनासो गरे ।

कार्यक्रममा आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचार संहिता पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

तेस्रो चरणमा हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले २ सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको छ । उनीहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिने छन् ।