पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने


पोखरा – अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने भएको छ । ९ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पंछी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका फोटो प्रदर्शनी, गिद्ध सम्वन्धी बिद्यालय स्तयरिय चित्रकला प्रतियोगिता र गिद्ध संरक्षण यात्रा गरि मनाइने भएको हो ।

एक हप्ता सम्म मनाइने गिद्ध सचेतना कार्यक्रम अन्तर्गत शनिवार ड्यामसाइड् स्थित नेपाल पर्यटन बोड्मा फोटो प्रदर्शनी र माध्यामिक बिद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना हुने पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमीरेले बताए । बिद्यार्थीहरुलाई गिद्धको महत्व र संरक्षणमा सहभागीता जनाउने उद्देश्यले फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिताको अयोजना गरिएको पोखरा पंछि समाजका सचिव हेमन्त ढकालले जानकारी दिए ।

सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका एक अभिन्न अंग गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्धको संरक्षणमा जनसहभागीता जुटाउन सन् २००९ देखि अन्तर्राट्रिय गिद्ध सचेतना दिवस मनाउन थालीएको हो । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दर्शकमा गिद्धको संख्या ९० प्रतिशत भन्दा बढिले घटेको पाइएको छ । सिनो खाएर हैजा, झाडा, रेवीज रोग फैलन नदिन महत्वपूर्ण भूमीका खेल्ने गिद्धलाई प्रकृतिको कुचिकार समेत भनिन्छ ।

गिद्ध विनासको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । यो औषधी प्रयोग गरि उपचार गराइएका पशुहरु उपचारको क्रममा मृत्यु भए र गिद्धले खाएमा मृगौलाले काम गर्न छोडी केहि दिननमै गिद्धहरु मर्ने गर्दछन् । यही औषधीको प्रयोगको कारण दक्षिण एशियामा ठुलो संख्यामा गिद्ध मरेको बिज्ञहरु बताउँछन् । नेपाल सरकार, औषधी व्यवस्था विभागले यस औषधीलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिवन्ध लगाई त्यसको बिकल्पमा गिद्ध लगाएत अरु पंछि र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधी बजारमा ल्याई प्रयोग हुँदै आएको छ ।

विश्वमा २३ प्रजातीका गिद्ध पाईन्छन् । दक्षिण एशियामा पाइने सबै ९ प्रजातीका गिद्ध नेपालमा पाईन्छन् । नेपालमा पाइने डंगर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध अपतनै संकटमा परेका गिद्धहरु हुन् । गिद्ध संरक्षणकालागि गिद्धलाई सुद्ध आहारा उपलब्ध गराउन गिद्धकालागि रेष्टुरेण्ट पनि संचालनमा छन् । कास्कीको घाचोकमा पनि जटायु रेष्टुरेण्ट संचालनमा छ ।