भ्रमण सफल भएको छ : देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले  संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने बताएका छन्  । उनले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयमा बोलेको कुरा बारे राजनीतिक दल तथा सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

व्यवस्थापिका संसदमा भारत भ्रमणको बारे जानकारी दिने क्रममा प्रधानमन्त्री देउवाले नेपालको संविधान निर्माण, सर्वस्वीकार्यता र कार्यान्वयन नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय भएको बताए ।

उनले भने, ‘यसमा कसैसँग सम्झौता गरेको छैन । र, हुन पनि सक्दैन ।’ संविधानको सर्वस्वीकार्यकता कायम गर्ने र कार्यान्वयन गर्ने राष्ट्रिय एजेन्डाको विषय भएको बताउँदै उनले यसबारे अन्तर्राष्ट्रिय जगतलाई जनाकारी गराउनु अस्वभाविक विषय नभएको जिकिर गरे ।

उनले भने, ‘नेपालको शान्ति प्रक्रिया, संक्रमणमा सघाई आएका नेपालको छिमेकी तथा मित्र राष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’प्रधानमन्त्रीले संविधान कार्यान्वयानमा छिमेकी वा अन्य कुनै मुलुकको हस्तक्षेप आफूहरुलाई स्वीकार नहुने प्रष्ट पारे ।

संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भाद्र ७ देखि ११ गतेसम्म भएको पाँच दिने भ्रमणलाई भारत सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे । उनले आफ्नो भ्रमणले नेपाल र भारतको विश्वासको आधारशीला बलियो बनाउनका साथै समझदारीलाई सुदृढ बनाउन सफल भएको दाबी गरे । प्रधानमन्त्री देउवाले नेपालप्रति भारतीय नेतृत्वको सद्भाव रहेको पाएको जिकिर गरे । भारतले नेपाल शान्त, लोकतान्त्रिक र समृद्ध भएको हेर्न चाहेको पनि बताए । प्रधानमन्त्रीले भने, ‘विगतमा भएका सम्झौता भएर अड्किएर बसेका विषयहरु अगाडि बढाउन यो भ्रमण सफल भएको छ ।’